विराटनगर । मोरङको रङ्गेली नगरपालिका-६ पिपल चोकका गणेश सहनीले आफूमाथि अन्याय भएको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले बाटो बनाएको विषयलाई लिएर आवाज उठाउँदा आफूमाथि अन्याय भएको बताएका हुन् ।
रंगेली-६ पिपल चोकदेखि गोढी टोल र साहु टोल हुँदै हुलाकी राजमार्गसम्मको बाटो बन्ने विषयमा आवाज उठाउँदा अन्याय भएको भन्दै उनले न्यायको माग गरेका छन् । नगरपालिकाका सिभिल इन्जिनियरले बाटोको विषयमा भिडिओ नबनाउँन दबाब दिँदै आफूलाई पैसाको प्रलोभनमा पारेको उनले बताए ।
‘मलाई इन्जिनियरले कति पैसा चाहिन्छ भन्नुहोस् भनेका थिए’, पत्रकार सम्मेलनमा उनले भने, ‘मैले बाटो राम्रो बनाउनुहोस्, मलाई पैसा चाहिँदैन भनेको थिए । गुणस्तरहीन तरिकाले बाटो निर्माण गरेको देखेर मैले आवाज उठाए । मैले आवाज उठाएकै भरमा ९ दिन थुनामा राखियो ।’
सोही विषयलाई लिएर इन्जिनियर सुरज कुमार मण्डलले आफूमाथि विभिन्न धम्की दिएको समेत उनले बताए । आफूले बाटोको भिडिओ बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि थप धम्की आएका उनले सुनाए ।
‘मैले गत मंसिर २२ गते भिडिओ सामाजिक सञ्जालमा राखेँ’, उनले थपे, ‘त्यसपछि मलाई फसाउन इन्जिनियरले मंसिर २४ गते अभद्र व्यवहारको जाहेरी दिनुभएछ । मंसिर २८ गते साँझ इलाका प्रहरी कार्यालय रङ्गेलीबाट भेट्नु छ भनेर फोन आयो । म काममा व्यस्त भएकाले अर्को दिनको समय दिएको थिए । तर २९ गते शनिबार मलाई लगेर थुन्नुभयो ।’
घरपरिवारलाई समेत जानकारी दिन नपाउँदै आफूलाई प्रहरीले लगेर थुनेको उनले सुनाए । प्रहरीले आफूसँग पाँच दिनसम्म थुनामा हुँदा कुनै बयान नलिएको उनले बताए । बाटोको विषयमा स्थानीयलाई झुक्याएर सही गराएको र स्थानीयले भनेको कुनै कुरा पनि प्रहरीले नसुनेको उनको भनाइ छ ।
नगरपालिकाका इन्जिनियर मण्डलविरुद्ध स्थानीयले जाहेरी दर्ता गराउन खोज्दा इलाका प्रहरी कार्यालय रङ्गेलीले अहिलेसम्म दर्ता नगरेको उनले बताए । सहनी पुस ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ४३ हजार धरौटी बुझाएर छुटेका थिए ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले सहनीले यस विषयमा आरोप मात्रै लगाएको उल्लेख गरे । ‘कसैको दबाबमा उनलाई पक्राउ गरिएको हैन’, खड्काले संगालोखबरसँग भने, ‘जाहेरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरेका हौँ ।’
नगरपालिकाका इन्जिनियरले आफूमाथि गालीगलौज र दुव्र्यबहार गरेको भन्दै उजुरी दर्ता गरेपछि सहनीलाई पक्राउ गरेर अनुसन्धान गरिएको उनको भनाइ छ । फौजदारी मुद्दामा एकैपटक दुई पक्षको उजुरी लिन नमिल्ने भएकाले अर्को पक्षको उजुरी नलिएको खड्काले बताए ।
‘उहाँ (गणेश) लाई इन्जिनियरले अफिसमै आएर कुरा गर्न भन्नुभएको रहेछ’, खड्काले भने, ‘तर अफिसमा नगएर त्यही गालीगलौज र दुव्र्यबहार गरेको पाइयो ।’