विराटनगर । विराटनगरको आईसीपी रोडमा आज साँझ तीन जना सवार मोटरसाइकल भारतीय नम्बर प्लेटको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका-१४ स्थित आईसीपीबाट विराटनगर बजारतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ करिब साढे ५ बजे ठोक्किएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर-१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
दुर्घटनामा चालक ठाकुरसहित मोटरसाइकलको पछाडि सवार विराटनगर-१५ का १६ वर्षीय आदित्य साह र विराटनगर-१४ का १८ वर्षीय विकासकुमार यादव घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा साँझ करिब ६ बजे सुरजको मृत्यु भएको हो । आदित्य र विकासकुमारको कोशी अस्पतालमै उपचार भइरहेको छ ।
कोइला बोकेको सो ट्रक मोटरसाइकलसँग ठोक्किँदा अनियन्त्रित भएर सडकमा पल्टिएको छ । घटनापछि ट्रक चालक फरार भएकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।