संगालोखबर

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार टिकाराम पुरीले सरकारसँग आफ्ना कुरा दमदार रुपमा राख्न सक्ने सक्षम व्यक्तिले प्याब्सनको नेतृत्व गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशन उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार पुरीले आवश्यक परेका बेला आफ्ना कुरा सरकारलाई प्रष्टसँग राख्न नसक्ने व्यक्ति नेतृत्वमा गएर अर्थ नहुने बताए ।

Advertisement

जायज कुरा सम्बन्धित ठाउँमा राख्न सक्नुपर्नेमा जोड दिँदै उनले नीति निर्माणमा आफ्नो उपस्थिति खोज्न सक्नुपर्ने आवश्यकता औँल्याए । प्याब्सनका राष्ट्रिय अध्यक्षसमेत भइसकेका पुरीले आफू जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा रहँदा यही कुरालाई आत्मसाथ गरेर अघि बढेको दृष्टान्त पेश गरे ।

सरकार गम्भीर नभएकै कारण युवाशक्ति पलायनको क्रम तीव्र भएको भन्दै उनले नेपालमा पढ्दै कमाउने वातावरण तयार भए विद्यार्थी पलायन हुने क्रम रोकिने धारणा राखे । उनले भने, ‘श्रमको सम्मान र मूल्य हुनुपर्छ, पढ्दै कमाउने वातावरण तयार भए युवा पुस्ताले बाध्यात्मक रुपमा विदेशिने क्रम रोकिन्छ ।’

देशको विकास र समृद्धिका लागि आफ्नै देशमा शिक्षा अनुसारको पेशा गर्न पाउने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए । प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी, गोपाल आचार्य, टीआर ढकाल लगायतले प्याब्सनले देशको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै त्यसमा मोरङको पनि अहम् भूमिका रहेको उल्लेख गरे । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख राम ढुङ्गेलले निजी विद्यालयहरूसँग समन्वय गरेर अघि बढ्ने धारणा राखे । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई कार्यक्रममा सम्मान गरिएको छ ।

२१० सदस्य रहेको प्याब्सन मोरङमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्षमा जगत बस्नेत र सुरेन्द्र सुवेदीबीच प्रतिष्पर्धा हुँदैछ । उनीहरु बेग्लाबेग्लै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनबाट ७ पदाधिकारीसहित ३१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!