धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा मेसिनले ढुङ्गा काट्ने क्रममा पहिरो झरेको छ । बिहीबार बिहानका राती करिब २ बजेतिर खसेको पहिरोले भेडेटार-राजारानी सडकखण्ड अवरुद्ध भएको छ भने सडक मुनीको बस्ती पनि जोखिममा छ ।
सडक माथिको ढुङ्गा काट्दा थर्किएर पहिरो गएको प्रहरी चौकी डाँडाबजारका बरिष्ठ हबल्दार नारायण कटवालले जानकारी दिए । ‘सवारी साधन वैकल्पिक बाटो हुँदै गन्तव्य तर्फ गइरहेका छन्’, खड्काले संगालोखबरसँग भने, ‘जेसिवी प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।’
ढुङ्गा काट्दा जमिन थर्किएर चिरा-चिरा परेको उनले जानकारी दिए । ‘जेसिवी माथि गएर चिरा भएको भाग हटाउने काम गरिरहेको छ’, उनले भने, ‘माथिबाट झारेको माटो सडकमा नै थुपारिएको छ । माटो फ्याँकेपछि सडक सञ्चालनमा आउँछ ।’
सडकदेखि तल बस्ती भएकाले ढुङ्गा झर्दा जोखिम निम्तिन सक्ने उनको भनाइ छ । बस्तीलाई जोखिम नहोस् भनेर स्कुलको होस्टेलमा बस्ने ब्यवस्था मिलाइए पनि स्थानीय नगएको उनले बताए ।
‘हामीले सम्झाउने काम गरेका छौँ’, उनले भने, ‘राति पहिरो जानसक्छ भनेर सम्झाएका छौँ । कहिले यतै बस्नुहुन्छ, कहिले उता पनि बस्नुहुन्छ ।’ वडाध्यक्ष खड्गबहादुर लिम्बुले ढुङ्गा कटिङ गर्दा थर्किएर पहिरो गएको जानकारी दिए ।
‘चिरिए जोखिम भएको सबै जेसिवी प्रयोग गरेर हटाउने काम भइरहेको छ’, वडाध्यक्ष लिम्बुले संगालोखबरसँग भने, ‘अब बस्तीलाई त्यति धेरै जोखिम छैन ।’