विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर वृद्धि गरी अन्तराष्ट्रिय स्तरको बनाउन आफू तयार रहेको नवनियुक्त उपकुलपति डा. सुवासश्री पोखरेलले बताएका छन् । दोस्रो कार्यकालका लागि पुनः उपकुलपतिमा नियुक्त भएका पोखरेलले हिजो पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले यसका लागि आफूले तयार पारेको मिसन २०८५ लाई पुरा गर्ने बताए । हिजो पोखरेललाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथग्रहण गराएका थिए ।
पहिलो चार वर्षे कार्यकालमा चार विषयमा स्नातक र दुई विषयमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न सकेपनि पर्याप्त नभएको उनले बताए । उनले थप पाठ्यक्रम निर्माण गरेर विभिन्न विषयमा पिएचडी सम्मको पठनपाठन गराउन र विश्वविद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन मिसन २०८५ रणनीति तयार गरेको उल्लेख गरे ।
उनका अनुसार मिसन २०८५ रणनीति भित्र अत्यावश्यक मुख्य १८ कार्यभारहरू रहेका छन । जसमा जम्मा १०८ वटा काम सम्पन्न गर्नुपर्ने छ । तयार पारिएको रणनैतिक प्रतिवेदन अनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नुपर्नेछ ।
पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पिएचडी, १० वटा स्नातकोत्तर र १२ वटा थप स्नातक तहको कक्षा सञ्चालन गर्नेछ । विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउन विभिन्न १८ वटा ल्याबहरू निर्माण गर्नुपर्नेछ ।