विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध दुर्व्यसनी विरुद्धको सचेतनामूलक सन्देश बोकेको श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा लिम्बू, बान्तवा, थारू र मैथिली भाषालाई समेटेर तयार पारिएको सामग्री आज सार्वजनिक गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका हुन् । मोरङको केराबारी, झोराहाट, सुनसरीको बर्जू गाउँपालिकालगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा लागूऔषध प्रयोगले पार्ने असर तथा नोक्सानीका विषयमा जानकारी दिइएको छ ।
पछिल्लो समय लागूपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको अवस्थामा यो सामग्रीले न्यूनिकरणमा सहयोग पुर्याउने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । उनले लागूऔषध नियन्त्रण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको बताउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम गर्ने बताए ।
यसको नियन्त्रण तथा रोकथामका लागि समाजका सचेत नागरिक र प्रहरीले विशेष भूमिका खेल्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले विभिन्न जातजातिलाई समेट्दै चार वटा भाषामा श्रव्यदृश्य सामग्री निर्माण गरिएको बताए ।
सचेतनामूलक भिडियो सामग्रीले लागूऔषध प्रयोगकर्तामा कमी आउने उनको विश्वास छ ।