धनकुटा । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो ।
उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी-६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे-६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि-६ का लोकेन्द्र राईले सान्त्वना पुरस्कार पाएका छन् भने महालक्ष्मी-१ का सुवास गुरुङ, धनकुटा-१० का टेकबहादुर दर्लामी र साँगुरीगढी-१ का कर्णबहादुर लिम्बूलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारसहित सम्मान गरिएको छ । सान्त्वना र प्रोत्साहन पुरस्कारबापत जनही २/२ हजार प्रदान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्रबहादुर राना र पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले उत्कृष्ट छनौट भएका कृषकहरूलाई अबिर लगाएर सम्मान पत्र र नगद प्रदान गरी सम्मानित गरेका छन् ।
प्रथम हुने खड्काले १२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनले खोर्सानी, काँक्रा लगायतको बेमौसमी खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । द्वितीय पुरस्कृत पाउने राई टमाटर खेतीमा केन्द्रित छन् । उनले १५ रोपनी क्षेत्रफलमा ४० वटा टनेलभित्र टमाटर खेती गरिरहेका छन् । तृतीय हुने रायले १९ रोपनी क्षेत्रफलमा चैते साग, आलु र काउली खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
कृषि क्षेत्रमा व्यवसायिक रुपमा लामो समयसम्म निरन्तर राम्रो काम गर्दै आएका कृषकहरूलाई छनौट गरी थप प्रोत्साहनका लागि सम्मान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख रानाले जानकारी दिए ।
यसैबीच, विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्रले ‘शुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ विषयक निबन्ध लेखन प्रतियोगिता पनि गरेको छ ।
प्रतियोगितामा गोकुण्डेश्वर वालमन्दिर माविकी प्रतिभा सुवेदी प्रथम, निजामति आवासीय विद्यालयकी आर्सी अधिकारी द्वितीय र गोकुण्डेश्वर वालमन्दिरका सतिस सुवेदी तृतीय भएका छन् ।
उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । भाषा माविकी प्रतीक्षा श्रेष्ठ र गोकुण्डेश्वर माविका सञ्जिव कार्कीलाई सान्त्वना पुरस्कार बापत नगद ३/३ हजार प्रदान गरिएको छ ।