सुनसरी । धनकुटाको भेडेटारबाट सुनसरीको धरान आउँदै गरेको कारबाट एक सय ९० किलो गाँजा बरामद भएको छ । आज बिहान १० बजेतिर धरान-१३ शिवधारास्थित कोशी लोकमार्गबाट गाँजा बरामद भएको हो ।
बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार कार चालक फरार छन् ।
‘चालक गाडी छाडेर फरार भएका छन्’, उनले संगालोखबरसँग भने, ‘चालकको खोजी कार्य भइरहेको छ ।’ सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
गाँजा तस्करीमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको शसस्त्र प्रहरीले सम्बन्धित निकायमा बुझाएको छ ।