विराटनगर । विराटनगरमा सडक पिच गर्नु पर्ने माग गर्दै आन्दोलन भएको छ । वडा नम्बर ११ को कार्यालय अगाडी सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले आज बिहानदेखि सडकमा सुतेर आन्दोलन गरेका हुन् । उनीहरूले उक्त सडक दिनभरी बन्द गरेका थिए ।
वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म सडक बन्न सकेको छैन । ठेक्का सम्झौता भए पनि म्याद गुज्रिएको पाँच महिना बितिसक्यो । तर पनि सडक बन्ने अवस्था नदेखेपछि आन्दोलित हुनुपरेको स्थानीयले बताए ।
विराटनगर-२ निवासी सरोज फुँयालले उक्त सडको ठेक्का लिएका छन् । विराट कालिका कन्ट्रक्सनले सडक निर्माणका लागि महानगरपालिकासँग २०८० मंसिर २० गते ठेक्का स्वीकृत गरेको थियो ।
पाँच महिना भित्रमा पूरा गर्ने सम्झौता गरेर ३२ लाख ११ हजार एक सय ६८ रुपैयाँमा सडक निर्माणको ठेक्का लिएको थियो । तर अहिलेसम्म निर्माण नहुँदा स्थानीय आक्रोशित भएका हुन् ।
२०८१ साउन १५ गते भित्रमा सडक निर्माण गरिसक्नुपर्ने थियो । तर ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा वडा कार्यालयले २०८१ कात्तिक मसान्तसम्मको लागि पहिलो पटक म्याद थप गरेको थियो ।
पहिलो पटक म्याद थप गरेको समयावधिमा पनि निर्माण कार्य पूरा नभएपछि आन्दोलन गर्न बाध्य भएको स्थानीयले बताएका छन् । उनीहरूले सडक अवरुद्ध गर्नका साथै वडा कार्यालय समेत घेराउ गरेका थिए ।
लामो समयदेखि धुलो खान बाध्य भएपछि सडक पिच नहुन्जेल सम्मका लागि सडक अवरुद्ध गर्ने उनीहरूले बताए । स्थानीयले केहीबेर वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए । त्यसको केही समयपछि नगर प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले ताला खोलेको थियो ।
स्थानीयले वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेलाई समेत घेराउ गर्दै ठेकेदारलाई तत्काल बोलाएर काम अगाडि बढाउन दबाब दिएका थिए । केहीबेरको प्रदर्शनपछि वडाध्यक्ष न्यौपानेको रोहबरमा ठेकेदार फुँयाल, स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको उपस्थितमा छलफल भएको थियो ।
छलफलपछि स्थानीयवासीले मंसिरको अन्तिम तिर निर्माण सम्पन्न गर्न ठेकेदारलाई दवाव दिएका थिए । ठेकेदारले भने पुषको पहिलो हप्तामा काम सक्ने आश्वासन दिएका छन् ।