विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज राति १२ बजेदेखि लागू हुनेगरि सवारी साधन प्रवेशमा रोक लगाइएको छ । भोलि हुने स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरेर मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको जनाएको छ ।
बुढीगङ्गा गाउँपालिका-७ डंग्राहा, विराटनगर महानगरपालिका-१९ मिलन चोक, कटहरी गाउँपालिका-७ को भौडाहा र सुन्दरहरैँचा नगरपालिका-१ हरैँचाबाट ग्रामथान प्रवेश गर्ने सवारीलाई रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
अवज्ञा गरेमा सवारी साधन नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने सहायक जिल्ला प्रमुख अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा भनिएको छ ।