झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर पत्ती बनाउने गरिन्छ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बन्ने गरेको छ । ठूलो मात्रामा निर्यात भएको यसले नेपालमा विदेशी मुद्राआर्जन गर्न ठूलो भूमिका निर्वाह गरेको छ । वैदेशिक व्यापार घाटा कम गराउन पनि सघाउ पुर्याएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार पछिल्लो २७ महिनामा ५ अर्ब १८ करोड ४१ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको प्लाई बोर्ड भारत गएको छ । ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती निर्यात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै १४ करोड ७१ लाख ३६ हजार बराबरको भेनियर पत्ती र ९ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको तथ्याङ्क छ । अहिले नेपालमा १ सय २० भन्दा बढी भेनियर उद्योग सञ्चालन भइरहेका छन् । त्यसमा आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी पाएका छन् । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग छन् ।
भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरू छन् । मुख्यगरी काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट भेनियर पत्ती र प्लाइबोर्ड निर्यात हुने गरेको छ ।