सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित मूलखर्कका कृषक दूध बेच्न घण्टौँ हिँड्नुपर्थ्यो । डेरी टाढा भएकाले हिँड्नु उनीहरूको बाध्यता थियो । स्थानीय सिताराम कटवालले डेरी सञ्चालनमा ल्याएपछि भने दुग्ध कृषकको बाध्यता हटेको छ ।

Advertisement

करिब तीन वर्ष अघि कटवालले एक सय ५० लिटर दूध सङ्कलन गर्न सक्ने गरी डेरी सञ्चालन गरेका थिए । अघिले दैनिक आठ सय लिटरभन्दा बढी दूध सङ्कलन गर्न थालेका छन् । उनले स्थानीय दुई जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अन्य केहीलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेका छन् ।

यहाँ डेरी सञ्चालन हुनुभन्दा पहिला मेन्छ्यायम र डीडीसीले दूध लैजाने गरेका थिए । तर समयमा भुक्तानी नपाउँदा दुग्ध उत्पादन कृषकले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । स्थानीय कृषक मारमा परेपछि डेरी सञ्चालनमा ल्याइएको कटवालले बताए ।

अहिले कृषकलाई कुनै किसिमको समस्या नरहेको उनको भनाइ छ । डेरीमा छुर्पी र नौनी लगायतका वस्तु उत्पाद गरिन्छ । उत्पादन भएका वस्तु बाह्य जिल्ला निर्यात हुने गरेको छ । प्रतिस्पर्धी बजार भएकाले छुर्पीको मूल्य भने जस्तो नपाएको कटवाल बताउँछन् ।

‘पहिला एक हजार एक सय ५० रुपैयाँ प्रतिकिलो सम्म छुर्पी बिक्री हुन्थ्यो’, डेरी सञ्चालक कटवालले भने, ‘अहिले एक हजार प्रतिकिलोमा पनि बिक्री हुन मुस्किल भएको छ ।’ नौनी प्रतिकिलो छ सय रुपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ ।

डेरीबाट उत्पादित सामाग्रीको बजारीकरणमा भने केही समस्या रहेको उनले बताए । स्थानीय दुग्ध कृषक रमेश कटवालले डेरी सञ्चालनमा आएपछि धेरै सहज भएको बताए ।

‘तीन वर्ष अगाडिसम्म करिब तीन घण्टाको बाटो हिँडेर दूध डेरीसम्म पुर्‍याउनुपर्थ्यो ’, उनले भने, ‘समयमा भुक्तानी पनि नहुँदा थप समस्या हुन्थ्यो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।’  अहिले प्रत्येक महिना भुक्तानी पाउने गरेको उनले सुनाए ।

कृषकलाई प्रोत्साहन गर्न वडाले पनि सकेजति काम गरिरहेको महालक्ष्मी-२ का वडाध्यक्ष पदम रखाल मगरले बताए । वडाध्यक्ष मगरले भने, ‘विभिन्न निकायबाट आएको सहयोग कृषक सामु पुर्‍याएका छौँ । अनुदानका कार्यक्रममा पनि समावेश गरेका छौँ । देखिएका समस्यालाई सहजिकरण गर्दै आएका छौँ ।’

दुग्ध उत्पादन कृषकका लागि थप प्रोत्साहनका कार्यक्रम ल्याउन लागिएको वडाध्यक्ष मगरको भनाइ छ । यसले उनीहरूलाई थप आत्मनिर्भर बनाउने विश्वास लिइएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!