विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका महिलाहरू सङ्गिनी नाच संरक्षणमा जुटेका छन् । पछिल्लो समय नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयातित बाजागाजा, लय आदिको प्रभावले लोप हुन लागेको सङ्गिनी नाच जगेर्नामा महिलाहरू सक्रिय भएका हुन् ।
पथरी शनिश्चरे-३ का महिलाहरू समूह नै बनाएर नयाँ पुस्तालाई सङ्गिनी नाचको बारेमा जानकारी गराउँदै पुस्तान्तरण गर्न लागि परेका छन् । सङ्गिनी नाचको बारेमा थप अध्ययन गर्न महिलाहरूको समूह केही दिनमा म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, गुल्मी, पाल्पा, तनहुँ लगायतका जिल्ला भ्रमणमा जाने स्थानीय अर्जुन काफ्लेले बताए ।
काफ्ले सङ्गिनी नाच जगेर्ना गर्न सहजकर्ताको रूपमा काम गर्दै आएका छन् । विभिन्न जिल्लाको भ्रमण पश्चात थप ज्ञान आर्जन हुने विश्वास लिइएको उनको भनाइ छ । सङ्गिनी मूलतः आमा दिदीबहिनीहरूले स्थानीय भाका र लयमा गीत गाएर फन्को मार्दै छमछमी नाच्ने एक परम्परागत नाच हो ।
सङ्गिनीमा प्रयोग गरिने शब्द, भाका र स्वरसहितको साधना भित्र धार्मिक ग्रन्थहरूको सार पाइन्छ । सामाजिक मुद्दालाई पनि यसले कथावस्तुको रूपमा बोक्ने गर्दछ । ‘पौराणिककालका कथावस्तुहरू समेटिएकाले सङ्गिनी गीत सुन्नमा आनन्द लाग्छ’, स्थानीय रमा काफ्ले भन्छिन्, ‘यसमा संस्कार, संस्कृति र नैतिक मूल्यमा आधारित आचरण भएकोले पुस्तान्तरण जरुरी छ । हामी जुन उद्देश्यले लागिपरेका छौँ । त्यो पुरा हुनेमा ढुक्क छौँ ।’
पूर्वजनप्रतिनिधि देवीप्रसाद घिमिरे, भुवनेश्वर पोखरेल, उमाकान्त खतिवडा, टङ्कप्रसाद पोखरेल, प्रेमप्रसाद नेपाल, चन्द्रप्रकाश अधिकारी, बलभद्र आचार्य, लोकनाथ गौतम सहितको प्रयासमा उठेको बालन समूहको सक्रियतासँगसँगै सङ्गिनी नाचको पनि जगेर्ना थालिएको हो ।
सङ्गिनी जगेर्नामा देवीमाया लुइँटेल, टङ्क पोखरेल, यशोदा पोखरेल, नीरा अधिकारी, मुना अधिकारी, सिता अधिकारी, पिङ्गला पोखरेललगायतको भूमिका महत्वपूर्ण रहेको स्थानीय बताउँछन् ।