संगालोखबर संवाददाता

तेह्रथुम। तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन सास्ति भएको छ । ८० रुपैयाँ विद्युत महसुल बुझाउन उपभोक्ताहरु २ हजार रुपैयाँ खर्च हुने गरेको उपभोक्ताहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रिय विद्युत लाइन विस्तार भएको छ ।

Advertisement

पायक पर्ने स्थानमा विद्युत महसुल संकलन केन्द्र स्थापना नहुदाँ यहाँका उपभोक्ता मारमा परेका छन् । आठराई र फेदापका उपभोक्ताहरु विद्युत महसुल बुझाउन तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा एक दिनको पैदल यात्रा पछि पुग्छन् ।

म्याङलुङ बजारबाट ६ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्र जिरिखिम्तिमा पुगि एक महिनाको महसुल बुझाउने गरेका छन् ।

यस क्षेत्रका उपभोक्ताहरुलाई पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना नहुदाँ सास्ति र आवश्यकता भन्दा बढी खर्च हुने गरेको फेदाप गाउँपालिका स्थित ईसिबुका उपभोक्ता दाया सागर भण्डारीले बताउनु भयो ।

वर्षातको समयमा आठराई–फेदाप–म्याङलुङ सडक खण्डमा यातायात पनि संचालन हुदैन ।, भण्डारीले भन्नु भयो, “८० रुपैयाँ विद्युत महसुल बुझाउन २ हजार रुपैयाँ बढी खर्च हुने गरेको छ ।”

यातायात संचालानमा नहुदाँ यस क्षेत्रका बासिन्दालाई अझ बढी सास्ति भएको छ । हिउँदको समयमा यातायात संचालमा हुदाँ म्याङलुङ बजार पुग्ने ७ सय रुपैया एकहोरो यातायातमा लाग्छ । समयमा महसुल बुझाउन नपुग्दा जरिवाना समेत भोग्नु परेको स्थानीयले गुनासो गरेको छन् । पायक पर्ने स्थानमा महसुल केन्द्र स्थापना गर्न माग गरिएपनि कार्यालयले ध्यान नदिएकोे स्थानियहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement