सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडा क्षेत्र बसाइँ सराइले रित्तिँदै गएको थियो । अवसरको खोजीमा स्थानीय बासिन्दा अन्यत्र जाने क्रम तीव्र बनेको थियो । तर पछिल्लो समय भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले स्थानीयसँग मिलेर ‘तमोर पर्माकल्चर’ सञ्चालनमा ल्याएसँगै उजाडिएको क्षेत्र हराभरा भएको छ ।

Advertisement

अवसर र सुविधाको खोजीमा उक्त गाउँका बासिन्दा अन्यत्र गएसँगै गाउँ लगभग रित्तो बनेको थियो । तमोर पर्माकल्चर सञ्चालनमा आएपछि भने अवस्था फेरिएको छ । विदेशी नागरिकसहित कुरुलेका केही स्थानीयले २०७३ सालमा तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गरी काम सुरु गरेका थिए ।

उक्त कम्पनी यतिबेला गाउँका बासिन्दाका लागि सिकाइको केन्द्र बन्नुका साथै बसाइँ सराइ रोक्ने माध्यम पनि बनेको छ । त्यही कम्पनीले कुरुलेमा गरेको काम देखेपछि बसाइँ सर्नेको सङ्ख्या घट्न थालेको स्थानीयले बताए । गोयलकोे योजना अनुसार स्थानीयले काम गर्दा बसाइँ सराइ रोकिएको कुरुलेका चिरञ्जीवी अधिकारीको भनाइ छ । गोयलसँग मिलेर कुरुलेका लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी र दीर्घमान तामाङले पर्माकल्चर कम्पनी दर्ता गरेका थिए ।

त्यसपछि कुरुलेको करिब १०३ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको थियो । ती बिरुवा हुर्किएर उत्पादन दिइरहेका छन् । पर्माकल्चर विभिन्न जातका स्याउ, आरुबखडा, ओखर लगायत ३५ भन्दा बढी प्रजातिका फलफूल लगाइएको छ । त्यहाँ फलफूलको नर्सरी समेत राखिएको छ ।

नर्सरीबाट उल्लेख्य परिमाणमा बिरुवा बिक्री हुने गरेको कम्पनीले जनाएकोे छ । पर्माकल्चरले मात्रै नभई स्थानीय आफैँले स्याउ लगायत अन्य फलफूल फलाएर बिक्री गर्न थालेका कम्पनीका व्यवस्थापक भोजकुमार काफ्लेले जानकारी दिए ।

पर्माकल्चर सम्बन्धी तौरतरिका सिक्न चाहनेहरूका लागि सिकाउने व्यवस्था समेत रहेको उनले जानकारी दिए । कम्पनीका लागि प्राविधिक र आर्थिक सहयोग गोयलको संस्था ‘केटीके बेल्ट’ ले उपलब्ध गराउँदै काफ्लेले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!