मोहन ढकाल/संगालोखबर

विराटनगर । केही वर्ष अघिसम्म विराटनगरका धेरै ठाउँमा वरपीपलसहित ठूलाठूला रुख थिए । तिनै रूख बिरुवा गर्मीयाममा धेरैलाई शीतल छहारी बन्थे । कोशी राजमार्ग किनार लहरैजस्तो बरपीपलका रूख थिए । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पनि बाक्लै थिए । गर्मीयाममा धेरैलाई राहत मिल्थ्यो । प्रशासन आएका सेवाग्राहीलाई त्यसकै छहारीले धेरै सहज बनाउँथ्यो ।

Advertisement

अहिले यी सबैजसो क्षेत्र पहिलेजस्ता छैनन् । छहारी खोज्दा पनि नपाउने अवस्था छ । सन्सारीमाइस्थान छेउमा रहेका बरपीपलका रूख काटिए । राजमार्ग आसपास र पश्चिम नहर छेउका वरपीपल पनि काटिए । एयरपोर्ट रोड सौन्दर्यकरणको नाममा हुर्किसकेका बिरुवाको जरैसम्म हटाएर फलामे संरचना बनाइयो । ‘विकास’ का नाममा संरक्षणतिर ध्यान गएन । महानगर र अन्य सरकारी निकायले वातावरण दिवसलगायतमा बिरुवा रोप्ने गरेका छन् । स्याहार नपुग्दा रोपेका बिरुवा हुर्किएको पाइँदैन । कतिपय स्थानमा रोपिएका बिरुवा उखेल्ने, भाँच्नेलगायतका काम पनि हुने गरेका छन् ।

विराटनगर प्रदेशको राजधानी । बाक्लो बस्ती । त्यसमाथि अत्यधिक गर्मी हुने ठाउँ भएकाले पनि पछिल्लो समय जनजीवन अस्तव्यस्त छ । यसैलाई मध्यनजर गर्दै विराटनगरका सामाजिक अगुवाहरू बिरुवा रोप्न सक्रिय भएर लागेका छन् । रोप्ने मात्र होइन हुर्काउनेतिर पनि उनीहरुको ध्यान केन्द्रित छ ।

विराटनगरका पारुल क्षेत्री, जन्मदिन होस् या अन्य कुनै विशेष दिन, जोकोहीलाई पनि बिरुवा रोप्न प्रेरित गर्दै आएका व्यक्ति हुन् । उनी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । रोपिएका बिरुवा हुर्काउनुपर्छ भन्ने उनको उद्देश्य हो । उनले रोपिएका बिरुवा हुर्किएर फल दिएको फोटा बेलाबेलामा सामाजिक सञ्जालमा राख्छन् । यसो गर्नुको कारण बिरुवा रोप्न अरुलाई पनि प्रेरित गर्नु हो । उनै क्षेत्रीको बिरुवा प्रतिको मोहले अहिले विराटनगरबासी सक्रियताका साथ विरुवा रोप्न लागिपरेका छन् । ढाटदेखि रानी नाकासम्म ६ हजार बिरुवा हुर्काउने लक्ष्यका साथ हरेक दिन विराटनगरबासी बिरुवा रोपिरहेको भेटिन्छन् । उनीहरूले बिरुवा रोपेका मात्र छैनन्, त्यसलाई घेराबारा पनि गर्ने गरेका छन् ।

कोशी राजमार्गको दुवैतर्फको सडकपेटीमा विभिन्न जातका बिरुवा रोप्ने कार्य तीव्र गतिमा चलिरहेको छ । विराटनगर–४ का हेम कार्की पनि बिरुवा रोप्ने अभियानमा जोडिएका छन् । उनी पारुलकै हौसलाका कारण अभियानमा जोडिएका हुन् । उनले भने, ‘असार २ गते मेरो जन्मदिन थियो । पारुलजीले १ गते बेलुका नै फोन गरेर भोलि तपाईँको जन्मदिनमा बिरुवा रोप्नुपर्छ भन्नुभयो । मुनालपथमा बिरुवा रोपियो । बाँस ल्याएर घेराबारा पनि गरियो । त्यही प्रेरणाले अहिले अभियानमा पनि जोडिएको छु ।’ विराटनगरलाई हराभरा बनाउने लक्ष्यसहित बिरुवा रोप्ने र हुर्काउने कार्यमा अगाडि बढिरहेको उनले बताए । यस अभियानलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने उनको सुझाव छ ।

विराटनगरलाई हराभरा बनाएर शितलता प्रदान गर्ने उद्देश्यले बिरुवा रोप्ने अभियानलाई तीव्र बनाइएको विराटनगरका विनोद गौतम बताउँछन् । यो अभियान विराटनगरबासीको भएकाले जो–कोही स्वतःस्फूर्त रूपमा जोडिन सक्ने उनले बताए । उनले भने, ‘पारुल दाईले सुरुवात गर्नुभयो । उहाँले एक्लै विरुवा रोपेर हिँडेको देखियो । हामी पनि साथ दिनुपर्छ भन्ने लागेर बिरुवा रोप्न स्वेच्छाले यसमा जोडिएको हुँ । एकजना लागेको ठाउँमा हातेमालो गरेर अगाडि बढ्दा काम पनि छिटो हुन्छ । विराटनरलाई हराभरा, स्वच्छ बनाउन हामी लागिपरेका छौँ ।’

विराटनगर–१० की सुनिताकुमारी पौडेल एक महिनादेखि बिरुवा रोप्ने काममा सक्रिय छिन् । बिरुवा रोप्ने काम पुण्यको काम भएकाले यस अभियानमा स्वतःस्फूर्त रूपमा अभियानमा जोडिएको उनले बताइन् । उनले भनिन्, ‘पारुल क्षेत्रीले विरुवा रोपेको फोटो फेसबुकमा राखेको देखेपछि अभियानमा जोडिएकी हुँ । यो अभियान विराटनगरबासीको हो । बिरुवा रोप्ने अभियानमा सबैलाई जोडिन आग्रह गर्दछु । हामी हरियाली क्रान्तिमा होमिएका छौँ । हामी कुनै संस्थाबाट नभइ, व्यक्ति–व्यक्ति मिलेर विरुवा रोपिरहेका छौँ ।’

बिरुवा रोप्न विराटनगरबासी आफैँ सक्रिय भएर लागि परिरहेका अभियन्ता पारुल क्षेत्री बताउँछन् । जन्मदिन अथवा कुनै विशेष दिनमा सबैले विरुवा रोप्नुपर्छ भन्ने अभियानलाई संस्कृतिको रूपमा अगाडि बढाउनुपर्ने उनी बताउँछन् । बिरुवा रोप्ने मात्र नभएर हुर्काउने अभियानमा पनि उत्तिकै सक्रिय भएर सबैजना लागि परेको उनको भनाइ छ । ‘विराटनगर गर्मी ठाउँ हो । सडक विस्तारका क्रममा धेरै विरुवा काटिए । अहिले तापक्रम अत्यधिक बढेको छ’, क्षेत्री भन्छन्, ‘पैदलयात्रीलाई शितलमा बस्ने ठाउँ छैन । त्यसैले हामीले अभियान सञ्चालन गरेका हौँ । यसले स्वच्छतासँगै शितलता पनि प्रदान गर्छ । अभियानले तिब्रता पाइरहेको छ ।’

विराटनगरको उत्तरी सिमानादेखि दक्षिणी सिमाना रानीसम्म सडकको दुबैतर्फ बिरुवा रोपिरहेको उनले बताए । आफ्नो घरअगाडिको बिरुवा सबैले घेराबारा र मलजल गरेर हुर्काउन सहयोग गरिरहेको उनले बताए । उनी थप्छन्, ‘एक हजार विरुवा रोप्ने भनेर अभियान सुरु गरियो । तर अहिले ६ हजार बिरुवा रोप्न सक्रियताका साथ धेरै जना लागिपर्नु भएको छ । यसको पर्यावरणीय महत्व पनि धेरै छ । हामीले बिरुवा रोपिसकेपछि विराटनगरमा प्रत्येक वर्ष विरुवाले १० देखि १२ लाख लिटर पानी सञ्चित गरेर जमिनमा पठाउँछ । धूलो पनि केही हदसम्म नियन्त्रण गर्नका साथै शितलता पनि प्रदान गर्छ ।’

धेरैजना सक्रिय भएकाले यस अभियानले सफलता पाउने उनी बताउँछन् । ‘बरगाछी चोकमा आउने मजदुर, तरकारी, फलफूल बेच्न आउने, विद्यार्थी लगायतलाई गर्मीमा शीतल छहारी नहुँदा भोग्नु परेको समस्या महशुस गरेँ’, क्षेत्री भन्छन्, ‘त्यही भएर पनि विराटनगरमा बिरुवा रोप्न र हुर्काउन आवश्यक छ भनेर हामी लागिपरेका हौँ ।’

विभिन्न फलफूललगायत विभिन्न जातका विरुवा रोपिएको उनले बताए । कतिपय बिरुवा विभिन्न व्यक्तिको सहयोगमा उपलब्ध हुने, कतिपय आफैँ किनेर ल्याउने र धेरै बिरुवा बन कार्यालयबाट ल्याएर रोपिरहेको उनले बताए । उनले भने, ‘घेराबाराको लागि केही साथीहरू बाँस सहयोग गर्नुहुन्छ । कसैले मल दिएर सहयोग गर्नुहुन्छ ।’ प्रत्येक दिन बेलुका ५ बजेदेखि निश्चित स्थान तोकेर बिरुवा रोपिरहेको उनले बताए । अहिलेसम्म ८–९ सय बिरुवा रोपिसकिएको उनले बताए ।

बिरुवा रोप्न मात्र नभएर हुर्काउन पनि सक्रियताका साथ काम भइरहेको उनी बताउँछन् । बिहान बेलुका हिँडडुलमा निक्लँदा प्रत्येक व्यक्तिले बोतलमा पानी बोकेर बिरुवामा हालिदिए अभियानले थप सार्थकता पाउने उनी बताउँछन् । यसमा प्रत्येक विराटनगरबासीको साथ सहयोग आवश्यक पर्ने उनको भनाइ छ । कतिपय ठाउँमा रोपेका बिरुवा उखेलिएको पाइएकाले यस्तो नगरिदिन उनले आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!