संगालोखबर

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो ।

Advertisement

अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म तीन वर्षको अवधिमा कोशी प्रदेशमा आत्महत्याका ४ हजार ५८४ वटा घटना भएका छन् । उक्त कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार २०७८/७९ मा आत्महत्याका १ हजार ४८२ घटना भएका थिए । २०७९/८० मा १ हजार ५४८ आत्महत्याका घटना भएका थिए भने २०८०/८१ मा यस्ता १ हजार ५५४ वटा घटना भएका थिए ।

असफलता, बेरोजगारी, गरिबी, नराकात्मक सोच, लागूऔषध दुर्व्यसन, अत्यधिक मदिरा सेवन, मानसिक समस्या जस्ता कारणले आत्महत्याको सङ्ख्या बढिरहेको दाहालको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत भएको अध्ययनका प्रमुख शोधकर्ता प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तका अनुसार कृषि पेसामा आबद्ध किसानहरू सबैभन्दा धेरै आत्महत्याबाट प्रताडित हुने गरेको पाइएको छ । आत्महत्या गर्नेहरू मध्येमा ४६ प्रतिशत किसानहरू संलग्न हुने गरेको अध्ययनको निष्कर्ष छ ।

कृषकपछि धेरै विद्यार्थी र गृहिणी आत्महत्याको सिकार हुने गरेका छन् । आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०७८/०७९ को घटना अध्ययन गर्दा १५ प्रतिशत विद्यार्थी र ११ दशमलव ६ प्रतिशत गृहिणीको आत्महत्याबाट मृत्यु भएको भेटिएको छ ।

जातीय आधारमा सबैभन्दा धेरै दलित समुदायका मानिसहरूले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । दुई आर्थिक वर्षमा एकलाख जनसङ्ख्यामा दलित समुदायका २४६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।

आत्महत्याको मुख्य कारण मानसिक समस्या रहेको अध्ययनको निष्कर्ष छ । मानसिक समस्याका कारण ६५ प्रतिशत मानिसहरूले आत्महत्या गर्छन् । आर्थिक समस्याका कारण ८ प्रतिशतले आत्महत्या गर्ने गरेको अध्ययनबाट देखिएको छ । आत्महत्या प्रयास गरेर फर्किएकाहरूलाई १९ प्रतिशत मानिसले घृणा गर्ने गरेको अध्ययन निष्कर्ष छ । मृत्युको मुखबाट फर्किएकाहरूलाई ४५ प्रतिशतले चाहिँ सहानुभूति राख्छन् ।

साधारण लेखपढ भएकाहरूले सबैभन्दा धेरै आत्महत्या गर्छन् । साधारण लेखपढ भएका ६३ प्रतिशत र मास्टर्स डिग्री गरेका दशमलव ४ प्रतिशतले आत्महत्या गर्ने गरेका छन् । बारको आधारमा सोमबार र शुक्रवार धेरै आत्महत्या हुने गरेको देखिएको छ । आत्महत्याका ९८ प्रतिशत घटनामा ‘सुसाइड नोट’ भेटिँदैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!