सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लामा सञ्चालित सामुदायिक रेडियो स्टेसनहरु बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीलगायत विभिन्न प्रविधिक कारणले पछिल्लो समय रेडियोहरु बन्द हुने क्रम बढेको हो ।

Advertisement

जनसमुदायमाझ सहज रुपमा पुग्न सक्ने महत्वपूर्ण र प्रभावकारी माध्यम मानिने सामुदायिक रेडियो स्टेसनहरु धमाधम बन्द हुँदा ठूलो समुदाय सुसूचित हुनबाट वञ्चित हुने अवस्था आएको छ । पछिल्लो तथ्यांकअनुसार कोशी प्रदेशका २७ वटाभन्दा बढी समाुदायिक रेडियो स्टेसन बन्द भएका छन् । तीमध्ये सबैभन्दा बढी झापाका ९ बटा छन् ।

बन्द हुनेमा आरम्भ एफएम विर्तामोड, चारआली एफएम, सनराइज एफएम बिर्तामोड, कञ्चनजंघा एफएम बिर्तामोड, सरगम एफएम धुलाबारी, सिमाना एफएम कॉकडभिट्टा, सन्देश एफएम सुरुङ्गा, ग्लोबल एफएम चारआली र झापा एफएम दमक छन् ।

यस्तै, मोरङको इन्द्रेणी एफएम उर्लाबारी, रिदम एफएम पथरी, पथरी एफएम शनिश्चरे, सिम्रिक एफएम पथरी, लालीगुराँस एफएम गछिया, पूर्वाेदय एफएम इटहरी, कोशी एफएम विराटनगर, हेलो एफएम विराटनगर लगायत रेडियो बन्द भएका छन् ।

यसैगरी, सुनसरीको नमस्ते एफएम इटहरी, सुनसरी एफएम चक्रघट्टी र स्टार एफएम धरान बन्द भएका छन् । धनकुटाका युथ एफएम नाम्जे, रेडियो बरुण पाख्रीबास धनकुटा, रेडियो फक्तालुङ ताप्लेजुङ, पाँचथरको रेडियो सिंहलीला पाँचथर, चियाबारी एफएम इलाम, रेडियो उन्नति भोजपुर लगायत बन्द भएका छन् । बन्द भएका रेडियो स्टेसन एक सयदेखि एक हजार वाट क्षमताका छन् ।

कतिपय समुदायिक रेडियोहरुको आफ्नो संरचना छैन । ती भाडाका संरचनामा सञ्चालित छन् । त्यस्तो अवस्थामा आम्दानी नहुँदा कतिपयलाई भाडा तिर्न समेत समस्या भएको पाइएको छ ।

स्थानीय सरकारले सुरुवाती चरणमा सहयोग गरे पनि पछिल्लो समय बेवास्ता गरेका कारण सामुदायिक रेडियो धरासायी भइरहेको सुनसरी एफएम चक्रघट्टीका सञ्चालक समिति अध्यक्ष निर्मल बरालले बताए । कर्मचारीलाई तलब दिनदेखि लिएर भाडा तिर्न स्थानीय सरकारले गरेको सहयोगबाट पुग्ने गरेको उल्लेख गर्दै उनले अरु खर्च कार्यक्रमहरु मार्फत् व्यवस्थापन गर्ने गरिएको बताए ।

कर्मचारीहरु भविष्य अन्योलग्रस्त देखेर विस्थापित हुने क्रम बढ्दै गएको र चाहेर पनि रेडियो सञ्चालन गर्न सक्ने अवस्था नरहेको स्टार एफएम धरानका सञ्चालक गोपाल पौडेल बताउँछन् । उनले प्रदेश सरकारले रेडियोकर्मीहरुका लागि तालिम दिने र सामुदायिक रेडियोहरुको प्रवर्द्धन गर्न ध्यान दिनुपर्ने बताए । कतिपय कानुनी प्रावधानले गर्दा सामुदायिक रेडियोहरुले झन्झटिलो प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले पनि सञ्चालनमा कठिनाइ भएको पौडेलको भनाइ छ ।

पछिल्लो समय प्रतिस्पर्धाले गर्दा सामुदायिक रेडियोको संख्या बढ्दै गएको पाइन्छ । तर आर्थिकलगायत कारणले निरन्तरता पाउन भने सकेका छैनन् । के कारणले रेडियोहरु बन्द भएका हुन् भन्ने पत्ता लगाएर अध्ययन गरी ठोस कार्यक्रमका साथ प्रदेश सरकारले सहयोग गर्नुपर्ने सामुदायिक रेडियो प्रसारक संघ कोशी प्रदेशका अध्यक्ष विदुर खवासले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!