मोहन ढकाल/संगालोखबर

विराटनगर । ‘रातभरी अनिँदो बस्न बाध्य छौँ । सालैपिच्छे यो अवस्था आउँछ । पानी पर्न थालेपछि खोला पनि बढ्छ । घरै बगाउने हो कि भन्ने त्रासले रातभर निदाउन सकिँदैन । घरको सामान पनि सबै बगाएर लग्छ, बालबच्चा लिएर कहाँ भाग्नु ।’

Advertisement

यो पीडा हो विराटनगर–२ स्थित सिंघिया खोला छेउकी बासिन्दा सरोजादेवी रायको । आफ्नोमात्र होइन उनले त्यस क्षेत्रका अरु पनि पीडितहरुको समस्या पोखेकी हुन् । उनी ऐलानी जग्गामा बस्छिन् । ‘अन्यत्र सर्न कुनै बिकल्प नै छैन’, उनले भनिन्, ‘३० बर्षदेखि हामी यहीँ बस्दै आएका छौँ । चुनावमा तटबन्धको कुरा गरेर लोभ्याउँछन् । पछि त्यही कुरा भन्दा अन्तै सर्नु भन्छन् । हामी के गर्न सक्छौँ र ! तटबन्ध बनिदिएको भए ढुक्कले निन्द्रा त लाग्थ्यो ।’

खोला छेउका बस्ती मात्र नभएर विराटनगरका अधिकांश स्थान वर्षायाममा डुब्छन् । हुन त प्राकृतिक विपतलाई कसैले रोक्न सक्ने कुरा पनि भएन । तर पनि समयमनै पूर्वतयारी गरेर पानी निकासको लागि उचित कदम चाल्ने हो भने धेरै हदसम्म समस्या समाधान हुन्छ ।

विराटनगर–२ का चन्द्रबहादुर घिमिरे भन्छन्, ‘पहिला ठूलो पानी पर्दा पनि समस्या हुँदैन थियो । अहिले सानो पानी पर्दा पनि पूरै गाउँमा पस्न थालेको छ ।’ सिङ्घिया खोलाले बर्षेनी दुःख दिन थालेको उनको भनाइ छ । तटबन्धको कुरा लिएर विभिन्न निकायमा पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उनको गुनासो छ । उनी थप्छन्, ‘हुन्छ, हुन्छ भन्छन् । तर कहिले हुने हो टुङ्गो नै भएन ।’

खोलामा पानीको सतह बढेसँगै कतिपयले सडकमा पाल टाँगेर बस्ने चाँजोपाँजो मिलाउँदैछन् । कतिपयको घरभित्र पानी पसेर अन्नपात र लत्ताकपडा भिजिसकेका छन् । विराटनगर–६ की अरुलियादेवी रायको घरभित्रै पानी पसेको छ । घरभित्र भएका सबै सामान पानीले भिजिसकेका छन् । वरिपरीका घरमा पनि पानी पसिसकेको छ ।

उनी भन्छिन्, ‘पहिला त यस्तो हुँदैन थियो । अहिले पानी निकासको बाटो नहुँदा घर भित्रै पानी पस्यो ।’ पानी घरभित्र पसेपछि न त सुत्ने ठाउँ छ न भोक मेटाउन पकाउने चुल्हो नै छ । सबै पानीले ढाकिसकेको छ ।

सोही स्थानकी मीनादेवी पासवानको पीडा पनि उस्तै छ । घर वरिपरी तलाउ जस्तै भइसकेको छ । यताउता आवत–जावत गर्न पनि समस्या छ । घरभित्र पनि पानी पसिसकेको छ । उनी भन्छिन्, ‘पानी त अझै पर्छ । परिरह्यो भने बालबच्चा लिएर कहाँ भाग्नु । पानीले धेरै दुःख दिएको छ । नहरमा पनि पानी भरिएको छ । पानी निकासको बाटो नहुँदा बस्तीमा पसेको हो ।’

‘हामीले पहिलादेखि नै पानी निकासको लागि बाटो बनाइदिनु भनेर वडा कार्यालय धायौँ’, विराटनगर–६ की गौरी दास भन्छिन्, ‘नाला सानो छ । त्यसमाथि पनि फोहोर जमेको छ । नालाबाट पानी बग्दैन, सबै घरभित्र पस्छ ।’

वर्षायाममा कति दिनसम्म समस्या भोग्नुपर्ने हो टुङ्गो नहुने उनले सुनाइन् । निरन्तरको पानीले निन्द्रासँगै भोक पनि खोसिदिएको पीडा उनले सुनाइन् । बालबच्चा र बृद्धबृद्धालाई थप समस्या हुनेगरेको उनको भनाइ छ । विराटनगर–६ रामपुरका दिनेश पासवान पनि पानीको उचित निकास नहुँदा डुबानबाट समस्या भोग्न बाध्य भएको बताउँछन् ।

हरेक वर्ष यही समस्या दोहोरिने गरे पनि सम्बन्धित निकायले समयमा नै अध्ययन गरेर उचित कदम नचाल्दा त्यसको पीडा जनताले भोग्न बाध्य भएको उनले बताए । ‘वर्षायाम सधैँ पीडामा कटाउन बाध्य हुनुपरेको छ’ उनले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!