संगालोखबर

विराटनगर । मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा भारतबाट आउने कार्गो रेल नियमित हुन सकेको छैन । गत वर्ष जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका बेला भारतको बथनाहादेखि कच्चापदार्थ बोकेर रेल आएको थियो ।

Advertisement

त्यसयता भने कार्गो रेलले निरन्तरता पाउन सकेको छैन । भारतको कोलकाता बन्दरगाहबाट आउने चार प्रकारको सामान मात्र कार्गो रेलबाट ल्याउन अनुमति भएकाले रेल नियमित हुन नसकेको हो ।

औद्योगिक कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तु निकासीका लागि सहयोग पुग्ने गरी सुरु गरिएको रेल सेवाले निरन्तरता पाउन नसक्दा नेपाली औद्योगिक क्षेत्रका लागि खासै उपयोगी हुन सकेको छैन । सिमेन्ट, क्लिङ्कर, रासायनिक मल र कोइला ल्याउन अनुमति भए पनि यी सामान विराटनगर नाकाबाट आयात नगन्य मात्र रहेकाले समस्या भएको जनाइएको छ ।

कार्गो रेलमा ल्याउन अनुमति दिइएका सामान यहाँका उद्योगहरुमा प्रयोग नहुने भएकाले आयात नगन्य रहेको उद्योगीहरुको भनाइ छ । सुनसरी–मोरङ औद्योगिक करिडोरमा ती सामानलाई कच्चा पदार्थका रुपमा उपयोग गर्ने उद्योगहरु छैनन् ।

त्यही कारण त्यस्ता सामान आयात नहुने गरेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । उपयोगै नहुने सामान आयात नहुने भएपछि कार्गो रेल नियमित हुन नसकेको उनले बताए । उल्लेखित सामानमध्ये कोइला मात्र केही परिमाणमा आउने गरेको छ । सिमेन्ट र क्लिङ्करमा नेपाल लगभग आत्मनिर्भर भएकाले निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

गत आर्थिक वर्ष सोही अवधिमा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस वर्ष १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको २१ लाख ४७ हजार ७ सय ३७ टन सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

कोलकाता बन्दरगाह हुँदै ल्याइने सबै खालका सामान ढुवानीको व्यवस्था भए कार्गो रेल नियमित आउन सक्ने अवस्था हुने उद्योगीहरुको भनाइ छ । गत वर्ष उद्घाटनका दिन भारतको बथनाहदेखि बुधनगरसम्म आएको कार्गो रेलमा दुई हजार चार सय मेट्रिक टन औद्योगिक कच्चा पदार्थ ल्याइएको थियो ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा आउने ९० प्रतिशत कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाहबाट आउँछ । औद्योगिक र व्यावसायिक सामान लिएर विराटनगर नाकाबाट दैनिक सरदर तीन सय ट्रक नेपाल भित्रिन्छन् ।

कार्गो रेल नियमित रुपमा सञ्चालन हुन सके औद्योगिक क्षेत्रका लागि सहज हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् । नियमित सञ्चालन हुनका लागि सबै खालका औद्योगिक कच्चा पदार्थ र उत्पादित सामान आयात–निर्यातको सुविधा हुनुपर्ने उनको भनाइ छ ।

रेलबाट सामान ढुवानी गर्न नपाइएपछि उद्योगीहरुले मालबाहक ठूला सवारी साधन प्रयोग गरी सामान ल्याउने गरेका छन् । यसैगरी औद्योगिक र कृषि उत्पादनहरु पनि त्यस्तै साधनमा ढुवानी गरी भारत पठाउने गरिएको छ ।

रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनियर रोशन देवका अनुसार कार्गो रेल आउनका लागि सबै पूर्वाधार तयार छ । पछिल्लो समय उद्योगी–व्यवसायीहरुले कार्गो मार्फत् सामान नमगाएकाले रेल सञ्चालन नियमित हुन नसकेको उनले बताए ।

भारतको बथनाहादेखि कटहरीसम्म १८.१ किलोमिटर लामो रेलमार्ग दशकअघि निर्माण सुरु गरिएको थियो । उक्त रेलमार्गको प्राविधिक जाँच गर्नका लागि २०७५ कात्तिक ८ गते परीक्षण गरिएको थियो । त्यसबेला पनि परीक्षणका लागि रेल आएको थियो ।

१८ किलोमिटर रेलमार्गमध्ये भारततर्फ पाँच किलोमिटर पर्छ भने नेपालतर्फ भन्सार बिन्दुबाट १३ किलोमिटर क्षेत्र पर्छ । तत्कालीन राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी देशका विभिन्न ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार बथनाहा–कटहरी रेलमार्ग निर्माण गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!