आज जेठ ३ गते । ३१ वर्षअघि आजकै दिन एमालेका चर्चित नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा भएको ‘दुर्घटना’ मा निधन भएको थियो । नेताद्वयको स्मृतिमा पार्टीले विभिन्न कार्यक्रम गर्दैछ । स्मृति दिवसका अवसरमा एमालेले काठमाडौंको बल्खुमा आज बिहान आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति तथा भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । उनले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेकी छन् ।
‘महाराज, आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ, मदन भण्डारी चुनाव लड्न तयार छ ।’ शाही शासनकालमा राजाविरुद्ध सामान्य टिप्पणी गर्न पनि डराउनुपर्ने बेला । विरुद्धमा बोल्न चिताउनै नसिकने अवस्थामा मदन भण्डारीले काठमाडौंमा आयोजित एक आमसभामा निकै वर्षअघि गरेको भाषणको मुख्य र चर्चित अंश हो यो ।
२०४६ को जनआन्दोलनपछि एकाएक चर्चामा आएका प्रखर वक्ता भण्डारीको अल्पायुमै निधन भयो तर तरंग ल्याउने खालका उनका अभिव्यक्तिहरु नेपाली राजनीतिमा अझै चर्चित छन् ।
३१ वर्षअघि (२०५० जेठ ३ गते) चितवनको दासढुंगामा भएको दुर्घटनामा भण्डारी र अर्का नेता जीवराज आश्रितको ज्यान गएको थियो । त्यो घटना ‘दुर्घटना’ वा ‘हत्या’ के थियो भन्ने कुरा अझैसम्म रहस्यमय नै छ । उक्त घटनामा सँगै बितेका नेता जीवराज आश्रित कुशल संगठक र प्रष्ट वक्ताका रुपमा लोकप्रिय थिए ।
पोखरामा भएको कार्यक्रमबाट फर्कने क्रममा उनीहरु चढेको गाडी दासढुंगा भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो । तीन दिनसम्मको खोजीपछि आश्रितको गाडीमै शव भेटिएको थियो भने भण्डारीको नारायणी नदी किनारमा भेटिएको थियो ।
यो घटनाको छानबिन गर्न धेरै आयोग बने । अध्ययन भयो । तर दुर्घटना वा षडयन्त्र भन्ने खुल्न सकेको छैन । पार्टीका नेताहरुले दुर्घटना होइन हत्या हो भन्ने टिप्पणी गर्दै छानबिन गरी दोषी पत्ता लगाइछाड्ने भन्दै आएका थिए । तर पटक पटक सरकारमा गइसके पनि उनीहरुले यसबारे केही खुलस्त पार्न सकेका छैनन् ।
‘सत्ताबाहिर हुँदा लोकप्रियताका लागि दोषी पत्ता लाउने भने पनि सत्तामा गएपछि सबै कुरा बिर्सन्छन्’ पार्टीपंक्तिमा अझै पनि यस्तो टिप्पणी हुने गर्छ । ताप्लेजुङको ढुंगेसाँघुमा २००९ असार १४ गते जन्मेका भण्डारीले नेपाली राजनीतिमा छोटै समयमा बेग्लै छाप छाडेका छन् ।
उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै तत्कालीन नेकपा (एमाले) बहुलबादी राजनीतिमा अघि बढ्दै आम निर्वाचन २०४८ मा सहभागी भएको थियो ।
२०४६ को जनआन्दोलनमा तत्कालीन बाममोर्चाबाट सक्रिय सहभागिता जनाएका उनले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
भण्डारीको परिवार २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो । भारतको बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका भण्डारी २०२८ सालमा पुष्पलालसँगको भेटपछि राजनीतिमा लागेको राजनीतिक अभिलेखहरुमा पाइन्छ । २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए ।
पार्टी एकीकरणपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बनेका थिए । २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनको चर्चा झन् चुलिएको थियो ।
उनको विवाह २०३९ सालमा विद्या पाण्डे (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी) सँग भएको थियो । ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ यो पनि उनको अर्को एउटा सदाबहार अभिव्यक्ति हो । तर नियतिले उनलाई थकाएजस्तो लाग्ने गरी अल्पायुमै संसार छाडे ।
तिनै प्रखर नेता भण्डारीका जीवनका विभिन्न आरोह–अवरोह झल्कने केही तस्वीर यहाँ प्रस्तुत गरिएको छ। यी तस्वीर सांस्कृतिक संग्रहालय नेपाल र मदन भण्डारी संग्रहालयले संकलन गरेर राखेका छन् । ती संस्थाले देशका विभिन्न स्थानमा तिनै ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी गर्दै आएका छन् । केही समयअघि विराटनगरमा भएको प्रदर्शनका बेला आयोजकको अनुमति लिएर खिचिएका हुन् ।
ताप्लेजुङको जन्मघर, मोरङको घर, काठमाडौं र अन्य स्थानमा भएका आमसभा, पार्टी कार्यक्रम, चर्चित विदेशी नेता र राष्ट्रप्रमुखसँगको भेट, पत्नी विद्यादेवी भण्डारीसँग लिइएका, दासढुंगा घटना अनि शवयात्रा र अन्तिम संस्कारसम्मका तस्वीर यहाँ प्रस्तुत छन् ।