मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो ।

Advertisement

प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु देखिएको हो । यो कुल नमुनाको ४७ प्रतिशत हुन्छ । उक्त नमुनामै १९ जनामा इन्फलुएन्जा ए (एच३) र एक जनामा इन्फुएन्जा ‘बी’ समेत देखिएको थियो ।

प्रयोगशालामा स्वाइन फ्लु परीक्षणका लागि शुक्रबार ३० जना आएका थिए । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार मुख्य रूपमा मौसमी रुघाखोकीको लक्षण देखिएकामध्ये रोग प्रतिरोधक क्षमता कम भएका, एक सय डिग्रीभन्दा बढी ज्वरो, गर्भवती महिला, वुढापाका, ५ वर्षमुनिका बच्चा, दीर्घ रोगीमा मौसमी रुघाखोकी देखिएमा समस्या उत्पन्न हुन सक्छ ।

चिकित्सकका अनुसार जोखिम समूहका व्यक्तिले रुघा खोकीको सामान्य लक्षण देखिनासाथ आफूलाई स्वाइन फ्लु भए/नभएको परीक्षण गराउनु अनिवार्य हुन्छ । सामान्य व्यक्तिले भने कडा लक्षण देखिएमा परिक्षण गराउनुपर्छ ।

हाल स्वाइन फ्लुको प्रकोप उच्च रहेकाले सामान्य रुघाखोकी हुँदा आत्तिएर स्वस्थ व्यक्तिसमेत परीक्षण गराउन पुग्ने गरेको औल्याउदै डा.झाले भनिन्, ‘आवश्यक नभएका व्यक्तिसमेत परीक्षणका लागि आउँदा उपलब्ध साधन श्रोत चाहिनेका लागि अभावको स्थिति आउन सक्छ ।’

यो परीक्षणका लागि निजी क्षेत्रमा अति उच्च शुल्क तिर्नुपर्छ भने टेकुस्थित सरकारी जनस्वास्थ्य प्रयोगशालामा नि:शुल्क सेवा दिने गरिएको छ । डा. झाका अनुसार सामान्यतया स्वस्थ व्यक्तिलाई सामान्य मौसमी रुघाखोकी लाग्दैमा स्वाइन फ्लु परीक्षण गर्नु पर्ने आवश्यकता हुँदैन ।

स्वाइन फ्लुको बढी जोखिममा मुटु, दम, मधुमेह, क्षयरोग, श्वासप्रश्वासको रोग भएकाहरु, मोटो व्यक्ति, रक्सी सेवन गर्ने, मृगौला फेल भएकाहरू, डायलासिसमा रहेकाहरू, क्यान्सर भएकाहरु, बुढापाका, ५ वर्षमुनिका बालबालिका, गर्भवतीहरु, पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएकाहरु तथा रोग प्रतिरोधक क्षमता कमजोर भएकाहरू पर्छन् ।

जोखिम समूहले स्वाइन फ्लुको समयमै उपचार गरेमा निको हुने चिकित्सक जनाएका छन् । लापरबाही गरे या ढिलो उपचार गर्न आए यो रोगबाट मृत्यु हुने सम्भावनासमेत हुन्छ ।

चिकित्सकका अनुसार सामान्य रुघाखोकी जस्तै लागेर सुरु हुने स्वाइन फ्लुका बिरामीलाई निमोनियासम्मको स्थिति कुर्नु हुँदैन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन रुघाखोकीको जोखिम समूहमा रहेका व्यक्तिले कडा वा फरक प्रकृतिको रुघाखोकीको समस्या देखिए तुरुन्त चिकित्सकीय सहयोग लिनु पर्ने बताउँछन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा.गुणनिधि शर्मा मुलुकमा स्वाइन फ्लु वर्षेनी दुईपटक बढी मात्रामा देखिने गरेको बताउँछन् । उनी भन्छन्, ‘दशैंसम्म स्वाइन फ्लुको समस्या देखिन सक्छ । त्यसपछि जाडोयाम सकिएर गर्मी सिजन सुरु हुँदासमेत भाइरस सक्रिय भएर संक्रमण देखिन सक्छ ।’

स्वाइन फ्लुको भाइरस रुघा खोकी झैं मुख्य रुपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिऊँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणका माध्यमले वातावरणमा फैलिन्छ । संक्रमित व्यक्तिको एक मिटर दूरीमा भएका स्वस्थ व्यक्तिले वातावरणमा फैलिएको पानीको कणमा भएको भाईरसलाई श्वासप्रश्वासको माध्यमले आफ्नो शरीरभित्र ग्रहण गरेर संक्रमित हुन सक्छन् । सरकारी तथ्यांकअनुसार स्वाइन फ्लुको संक्रमणले सन् २०१७ को हालसम्म १२ जनाको मृत्यु भएको छ ।

लक्षण
स्वाइन फ्लुको मुख्य लक्षणमा एक सय एक डिग्रीभन्दा बढी ज्वरो तीन/चार दिनभन्दा बढी रहनु, सास फेर्न र लिनमा समस्या, छातीमा दुखाइ, रुघा-खोकी र कफ, सुस्ती, थकाइ वान्ता र भोक नलाग्नु आदि हो । उसो त सामान्य रुघाखोकी र यसको लक्षणमा खासै फरक नभए पनि यो अलि कडा रुपमा प्रस्तुत हुने गरेको छ ।

कसरी जोगिने ?

सार्वजनिक स्थानबाट घर फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ ।हात नधोएसम्म मुख, नाक वा आँखा छुनु हुन्न । किनभने शरीरमा विषाणु प्रवेश गर्ने वाटा नै यिनै हुन् ।

खोक्नु वा हाच्छिउँ गर्नुअघि टिस्यु पेपर वा रुमालले मुख छोप्नुपर्छ । त्यसपछि टिस्यु पेपरचाहिँ फ्याँक्ने र रुमाललाई तातो पानीमा छोपेर सुकाउनुपर्छ । हात पनि राम्ररी धुनुपर्छ ।

घरको भुइँ विसंक्रमित पार्नुपर्छ ।रोगीले काममा जानु हुन्न । सामाजिक मेलमिलाप तथा उत्सवबाट टाढै बस्नुपर्छ, अन्य व्यक्तिलाई तपाईंको रोग नसरोस् भनेर ।रोगीसँग घनिष्ट सम्पर्कमा बस्नु हुन्न ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!