सरकारले दुई साता भित्र सात वटै प्रदेशको राजधानी तोक्ने तयारी गरेको छ । त्यसैले सबै क्षेत्रमा अहिले पुनः एक पटक प्रादेशिक राजधानीको बिषयले चर्चा पाएको छ । प्रदेश नम्वर १ मा धनकुटा, ईटहरी र बिराटनगरलाई संभावित राजधानीका रुपमा हेरिएको छ । यस्तो अवस्थामा प्रदेश नं. १ को राजधानी विवादरहित तवरले निर्धारण गर्ने हो भने निर्विकल्प रुपमा धनकुटालाई बनाउनु नै उपयुक्त देखिन्छ । धनकुटा प्रदेशको राजधानीका लागि निम्न कारणले उपयुक्त देखिन्छ ।
ऐतिहासिक आधार
धनकुटा विगत शासनकालदेखि नै सदरमुकामको रुपमा स्थापित भई आजसम्म यसको निरन्तरता कायम रहेको छ । शाहकालमा गोर्खाली सेनाको विजय पश्चात केही समय पूर्वको प्रशासनिक केन्द्र चैनपुर रहेता पनि पूर्वी प्रशासन हेर्न १८४० देखि प्रशासनिक केन्द्र धनकुटालाई नै बनाइयो । वि.सं.१८८५ देखि धनकुटा पूर्ण रुपमा पूर्वको केन्द्र बन्यो ।
राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय रही धनकुटाले नै तराईको केही भाग र इलामसम्मको प्रशासन हेर्ने गर्दथ्यो । वि.सं.१९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपील सुन्ने केन्द्र बन्यो । यसरी धनकुटालाई पूर्वको क्षेत्रीय अदालतको रुपमा विकास गरी गोश्वाराहरुको सबै अपील सुन्ने व्यवस्था मिलाइएको थियो । पञ्चायतकालमा धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम कायम भई १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । प्रायः सम्पूर्ण क्षेत्रीय कार्यालयहरु धनकुटामा नै रहेको थियो ।
२०४६ सालको जनआन्दोलन पश्चात ५ विकास क्षेत्रको अवधारणालाई बढावा नदिएको कारण प्रशासनिक रुपमा धनकुटाको प्रभाव केहीहद घटेता पनि पछिल्लो समयमा क्षेत्रीय अवधारणालाई पुनः बढावा दिई पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय लगायतका क्षेत्रीय कार्यालयहरु यथावत रुपमा आजसम्म संचालन भई रहेका छन् । यस ऐतिहासिक निरन्तरता हालको राज्य पुनर्संरचनामा पनि आवश्यक छ ।
भौतिक पूर्वाधार
कुनै पनि प्रदेशको राजधानी सञ्चालन हुनका लागि भौतिक पूर्वाधारको जरुरी पर्दछ । प्रदेशिक राज्यको विषयगत करीब ३० औं मन्त्रालयहरु गठन हुन जरुरी हुन्छ । सबै मन्त्रालय निर्माण गर्दा अरबौ रुपैंया लागत लाग्न सक्छ । संकलित तथ्याङ्क अनुसार धनकुटामा ३९१ वटा सरकारी भवनहरु रहेका छन् यहाँ प्रदेशको राजधानी कायम गर्दा तत्कालको लागि सबै मन्त्रालयलाई पुग्दो सरकारी भवनहरुको पूर्वाधार निर्माण भएका छन् ।प्याराफिटसमेत भै करीव पच्चीस हजार जना अट्ने क्षमता भएको टुँडीखेल धनकुटाको मुटुमा रहेको छ । करीव ४०० जनासम्म अट्ने सभाहल (सामुदायिक भवन) र प्रायः सवै कार्यालयहरुको आफ्नो सभाहल रहेको छ ।
धनकुटा नगरपालिकाभित्र सरकारी तथा सार्वजनिक जग्गा ४८,६३५ रोपनी रहेको छ (सरकारी तथा सार्वजनिक जग्गा विवरण, आ.व.०६५/०६६, भुमिसुधार तथा व्यवस्था विभाग) । आवास तथा शहरी विकास शाखाको नाममा क्षेत्रफल २९९–९–०–३ जग्गा, ट्रष्टको नाममा (चुलीवन) १९३ रोपनी जग्गा (निजामती स्कूललाई ९३ रोपनी प्रदान गरिएको), पर्यटन विभागको नाममा १३३–२–३, नेपाल विद्युत प्राधीकरणको नाममा करीब २०० रोपनी, क्षेत्रीय प्रहरी कार्यालयको नाममा समेत गरी करीब १५०० रोपनी जग्गाको लालपूर्जा खडा भएको छ ।
जसले गर्दा धनकुटामा प्रादेशिक राजधानी बनाउँदा व्यक्तिको जग्गा अधिकरण गर्नु नपर्ने, मौजुदा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली अनुसार एउटा भवन बनाउँदा अनुमानित लागत रु.५०,००,०००।– का दरले ३९१ वटा भवन बनाउँदा १,९५,५०,०००००।– (एक अर्व पचानब्बे करोड पचास लाख) रकम बराबरको व्ययभार कम भई उक्त रकम अन्य क्षेत्रको विकासमा लगानी गर्न सकिन्छ ।
सुगमता
यस प्रदेशका सबै जिल्ला, गाउँ र क्षेत्रका नागरिकहरुका लागि धनकुटा आउन जान सुगम, सहज र उपयुक्त ठाउँ हो । अहिले सबैको चासो रहेको किमाथांका–विराटनगरको दुई देश जोड्ने सडक निर्माण भए, धनकुटा केन्द्रमा नै पर्छ । यसैगरी हाल निर्माणाधीन मध्यपहाडी लोकमार्ग, तमोर काबेली करीडोर, भेडेटार राजारानी रबि राके सडक खण्डले पहाडी तथा हिमाली जिल्लालाई धनकुटा संग धेरै नजिक बनाएको छ ।
तमोर काबेली करीडोर हुदै ताप्लेजुङ वाट १४६ र पाँचथर वाट ८७ किलो मिटरको यात्रा पछि धनकुटा पुग्न सकिन्छ । यता भेडेटार राजारानी रबि राके सडक खण्ड हुदै इलामवाट करीब १२० किलोमिटर पार गरेपछि धनकुटा पुग्न सकिन्छ त्यस्तै मध्यपहाडी लोकमार्ग हुदै सोलुखुम्बुवाट करीब २८० ओखलढुंगावाट २३० खोटाङवाट १७३ र भोजपुरवाट ९८ किलोमिटर दुरीमा धनकुटा पर्दछ । यसरी हेर्दा हाल धनकुटा संगै चर्चामा रहेका ईटहरी र बिराटनगर भन्दा हिमाली र पहाडी जिल्लाका लागि धनकुटा नजिक र सहज पर्ने देखिन्छ ।
केन्द्र भाग
सरकारको नीति सबै क्षेत्रको समानुपातिक विकास गर्ने हो । धनकुटालाई राजधानी बनाएमा यो नीतिले सार्थकता पनि पाउँछ । पूर्वाञ्चल विकास क्षेत्र पहिले पनि विकेन्द्रित थियो र भोली पनि हुने छ । किनकी भौगोलिकताका कारण पनि धनकुटामा केन्द्रिकृत अवधारणा अवलम्वन गर्न सकिन्न । धनकुटा राजधानी भएपनि शैक्षिक, औद्योगिक, व्यापारिक, पर्यटन, स्वास्थ्य केन्द्र यस प्रदेशका विभिन्न शहरहरु नै रहन्छ । धनकुटालाई राजधानी बनाएमा मधेशका काकटभिट्टा, दमक, बिर्तामोड, उर्लावारी होस् वा विराटनगर, इटहरी, धरान र उदयपुर कै, विकास र विस्तारमा कुनै फरक पर्दैन ।
बरु ताप्लेजुङ, इलाम, पाँचथर, तेर्हथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको विकासमा थप मद्दत पुग्ने छ । धनकुटा मध्य भागमा भएकाले हिमाल, पहाड र तराईको समानुपातिक विकास गरी एकजुट बनाउन पनि सहयोग पुग्दछ ।
सन्तुलित मौसम र उपयुक्त वातावरण
धनकुटा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र तथा हालका प्रदेश नं. १ अन्तर्गत पर्ने हिमाल, पहाड र तराईको मध्यभागमा पर्दछ । अर्को शब्दमा भन्ने होभने हिमाल, पहाड र तराईको संगमस्थल पनि हो, धनकुटा । यसका अलावा यसको विशेषता भनेको यहाँको मौसम हो ।
यहाँ हिमाली क्षेत्रजस्तो न धेरै जाडो छ, न त तराई मधेशको जस्तो धेरै गर्मी नै छ । यहाँको तापक्रममा धेरै अन्तर पनि छैन । जुनसुकै महिनामा पनि यहाँ आउँदा सबै क्षेत्रका नागरिकहरुलाई रहनबस्न सहज नै हुन्छ । जाडो मौसममा हिमाली क्षेत्रका प्रायः स्थायी बासिन्दा बेसीतिर ओर्लन्छ भने गर्मीको मौसममा तराईतिरका धनिमानी स्थायी बासिन्दाहरु पनि राजधानी उपत्यकातिर बस्ने गरेको पाईन्छ ।
तर, धनकुटामा गर्मी मौसममा हिमाली क्षेत्रका नागरिकहरु सहजै रहन बस्न सक्छ भने जाडो मौसममा तराई मधेशका नागरिकहरु । अर्को कुरा जाडो मौसममा हिमाली क्षेत्रमा मात्र नभई तराई मधेशमा पनि लामो समयसम्म पनि शितलहर चल्छ ।
त्यस्तो समयमा पनि धनकुटामा भने मजाले घाम लागिरहेकै हुन्छ । यदि गर्मी मौसममा हिमाली क्षेत्रका नागरिकलाई तराईमा जान परे होस् वा जाडो मौसममा तराई मधेशका नागरिकलाई हिमाली क्षेत्रमा जान परे, केहि दिन पनि टिक्न समस्या पर्ने सहज अनुमान गर्न सकिन्छ ।
धनकुटामा त्यस्तो कुनै समस्या हुदैन । राजधानी भएको ठाउँमा प्रदेशका हरेक क्षेत्रका नागरिकहरु कुनैपनि मौसममा आउनु पर्ने हुनसक्छ । त्यसैले धनकुटालाई राजधानी बनाए, काम विशेषले राजधानी आउने नागरिकलाई मौसमका कारण सजाय मान्ने अवस्था छैन । तराईमा गर्मी मौसममा जान परे कुनै सजाय भन्दा कम हुन्न ।
अन्य
धनकुटालाई राजधानी बनाए हिमाली तथा पहाडि क्षेत्रबाट मधेशमा हुने बसाईसराईको लर्को पनि केहि हदसम्म नियन्त्रणमा आउने छ । अहिले मधेशमा भएको अत्याधिक बसाईसराईका कारण पहाड, हिमाल उजाड मानवरहित गाउँ बन्दै छभने मधेश जनसंख्याको चाप थेग्नै नसक्ने अस्थामा पुगेको छ । चुरेको जंगल विनाशको संघारमा पुगेको छ ।
अत्याधिक घर निर्माणले अन्नको भण्डार मानिएको मधेशका उब्जाउ उर्वर भूमि घडेरीका लागि खण्डिकृत भई अत्यधिक रुपमा प्लटिङ गरिदै छ । यस्तो अवस्था यदि राजधानी पनि यहि क्षेत्रमा बनाउने होभने अहिले बाँकी रहेको सीमित उब्जाउ उर्वर जमिन पनि पुरै नासिई हरियाली भनिने तराई कंक्रीट जंगलमा परिणत हुनेछ । अर्कोतिर हिमाली र पहाडी क्षेत्र मानवविहीन अवस्थामा पुग्ने छ ।
अहिले पनि कोही विरामी परे अस्पताल लान युवा पाउन मुस्किल छ । कसैको निधन भए शवलाई मसानघाट लान युवक पाउनै गार्हो हुँदै गएको छ । खेतीपातीका लागि त्यस्तै समस्या छ । खेतीयोग्य जमिनहरु बाँझै हुदैछन् । यातायात तथा पूर्वाधार विकासको अभावमा रमणीय पर्यटकीय स्थानहरु भर्जिन नै छन् ।
काठमाडौंको नजर यि क्षेत्रहरुमा नपर्दा यस्ता समस्या आएका हुन् । धनकुटा राजधानी भए, नजिक पर्ने यस्ता दृश्यावलोकन गर्न सकिने रमणीय पर्यटकीय स्थानहरुको पनि विकास स्वतः रुपमा हुन्छ । उदाहरणका लागि नगरकोटलाई लिन सकिन्छ । काठमाडौं नजिक भएकैले आज नगरकोट प्रमुख पर्यटकीय केन्द्र बनेको हो ।
यदी धनकुटा राजधानी बनेमा छिन्ताङको छिन्ताङदेवी, खोटाङको हलेसी महादेव, ताप्लेजुङका पाथीभरा, सुनसरीको बराहक्षेत्रलगायतका धार्मिकस्थलहरु धार्मिक पर्यटनका रुपमा विकास हुने छ । यसैगरी गुफापोखरी, राजारानी ताल, गुरासको राजधानी तीनजुरे क्षेत्र, ह्यार्तुङ झर्नालगायत ओझेलमा परेका पर्यटकीय स्थलको विकास र प्रचर हुने सम्भावना रहन्छ ।
यसरी यि क्षेत्रको विकास भए हिमाली तथा पहाडी क्षेत्रमै व्यवसाय र रोजगारको अवसर सृजना हुन्छ र मधेशमा हुने बसाईसराई नियन्त्रण हुन जान्छ । यसबाट तराईमा हुनसक्ने चुरे विनाशको नियन्त्रण भई उब्जाउ जमिनको बचाउ हुने छ भने हिमाली पहाडी क्षेत्रमा मानव वस्तीको विकास हुनेछ ।
त्यस्तै हालैको अविरल वर्षापछि आएको बाढीले तराई मधेशमा भएको डुवानको घटनाले पनि प्रशासनिक राजधानी तराई बनाउन हुन्न भन्ने देखाउँछ । यस्तो वर्षा र डुवान हरेक वर्ष भईरहेको छ भने ठूल देहोरिरहेको छ । यस्ता क्षति पुग्ने डुवान तीन चार वर्षमा भईरहेको छ । त्यसैले हरेक दृष्टिकोणबाट धनकुटा प्रदेश नं. १ को राजधानी बनाउन उपयुक्त हुन्छ । (सहयोगः राजेश्वर बहादुर श्रेष्ठ र तेजनारायण सिहं राई)