- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

झापा । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।

लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । प्रहरीका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा शव भेटिएको थियो । शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल र रस्सी फेला पारेको छ ।

Advertisement

सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलमा हतियार भेटाएकाले हत्यापछि आत्महत्याको आशङ्का गरेको हो । घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!