- संगालोखबर सम्बाददाता

धनकुटा । कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठले एमाले कार्यकर्तामाथि कुटपिट गरेको भन्दै उनलाई कारबाहीको मागसहित एमाले निकट राष्ट्रिय युवा संघले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । प्रहरीले श्रेष्ठविरुद्धको उजुरी लिन नमानी उनकै पक्षमा लागेर पीडितलाई न्याय दिन असहयोग गरेको भन्दै युवा संघले विरोध प्रदर्शन गरेको हो ।

प्रहरीले उजुरी नलिएर पीडकलाई उन्मुक्ति दिन खोजेको भन्दै युवा संघले दिउँसो करिब १ घण्टा प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्यो । उनीहरूले ‘मान्छे कुट्ने नरेश श्रेष्ठलाई कारबाही गर, दादागिरी देखाउन पाइदैन, प्रहरीले पीडकको पक्षमा लाग्न मिल्दैन, पीडितलाई न्याय दे, कुटपिट गर्नेलाई कारबाहीको दायरामा ले’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याए आन्दोलन चर्काउने युवा संघले चेतावनीसमेत दिएको छ ।

एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत बिहीबार राती धनकुटा–६ सल्लेरीस्थित आँखा अस्पताल अगाडि धनकुटा–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट भएको थियो । कुटपिटबाट कार्कीको देब्रे आँखा माथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि घाइते कार्कीलाई विराटनगर पठाइएको छ । घाइते कार्कीले कांग्रेस धनकुटा नगर सभापति श्रेष्ठसहितको समूहले आफुमाथि कुटपिट गरेको बताइरहेका छन् ।

राजनसँगै घर फर्कदै गरेका र कुटाई खानबाट भागेर जोगिएका तिलक कार्की पनि नरेशसहितको समूहले कुटपिट गरेको बताउँछन् । घटनापछि शुक्रबार पीडित पक्ष श्रेष्ठविरुद्ध उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर, प्रहरीले बहानाबाजी गर्दै उजुरी दर्ता गर्न मानेन । घटना भएको तीन दिन बितिसक्दा पनि प्रहरीले अझै उजुरी दर्ता गरेको छैन ।

यसैबीच, कांग्रेस नगर सभापति श्रेष्ठ भने कुटपिटमा आफ्नो संलग्नता नरहेको दावी गरिरहेका छन् । कांग्रेस धनकुटाले पनि प्रेस विज्ञप्ति जारी गरेर श्रेष्ठविरुद्ध झुटो आरोप लगाएर बदनाम गर्न खोजिएको दावी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!