- संगालोखबर सम्बाददाता
डा.सुनिल शर्मा । फाइल तस्वीर

विराटनगर । सामान्यतया चुनाव अघि नेताहरूले जनतालाई ठूलाठूला आश्वासन बाढ्छन् । चुनाव जितेपछि चुनाव अघि दिएका आश्वासन भुल्ने र जनमुखी भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएको जनगुनासो प्रशस्तै भेटिन्छ । जनताले विश्वास गरेर जिताएका प्रतिनिधिले नै चुनाव अघिका आश्वासन बिर्सने गरेको अवस्थामा हार्नेले आश्वासन पुरा नगर्नु त सामान्य बिषय हो ।

तर, यही परिवेशका एक फरक पात्र हुन् डा.सुनिल शर्मा । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं.३ मा कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका डा.शर्मा चुनावमा पराजित भए । बाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका भानुभक्त ढकालसँग पराजित भएका डा.शर्मा चुनाव हारेर पनि जनताको सेवामा उत्तिकै सक्रिय भइरहे । जनताको सेवा गरेर लोकप्रियता कमाएका कांग्रेस नेता डा.शर्मालाई आगामी मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनले उम्मेदवार बनाएको छ । पुरानै प्रतिस्पर्धी ढकालसहित यस पटक राप्रपाकी उम्मेद्वार नायिका रेखा थापासँग पनि शर्माको प्रतिष्पर्धा हुदैछ ।

Advertisement

२०७४ सालको चुनावको पराजयले डा.शर्मालाई सदनमा पुग्न त रोक्यो, तर जनताको सेवा गर्ने काममा रोक्न सकेन । जनप्रतिनिधि चुनिन नसकेपनि उनी जनताकै सेवामा निरन्तर लागिरहे । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले सो क्षेत्रमा पुर्याएको सेवालाई आफ्नो पार्टी भित्रबाट मात्र नभएर प्रतिस्पर्धी पार्टीकै कतिपय कार्यकर्ताले पनि खुलेर प्रशंसा गर्ने गरेका छन् । सानैदेखि एमाले समर्थकको रुपमा चिनिएका बेलवारी–४ धरहराका गणेशप्रसाद फुयालले डा.शर्माको सेवा भावको खुलेर प्रशंसा गरे । ‘राजनीतिक आस्था फरक भएकै कारण हामीले उहाँको योगदानलाई लुकाउँन खोजियो भने पाप लाग्छ,’ फुयाल भन्छन् ‘३ नम्बर क्षेत्रबासीका लागि सुनिल शर्माको योगदान धेरै ठूलो छ । जुनसुकै पार्टीको भएपनि राम्रो गर्नेलाई राम्रो भन्नै पर्छ ।’

उपचारमा राहत

आफ्नै लगानीमा सञ्चालित नोबेल अस्पतालबाट डा.शर्माले सो क्षेत्रमा बर्षौ अघिदेखि हरेक साता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । महिनामा शिविरबाट त्यहाँका २ हजार भन्दा बढी बिरामीले निःशुल्क उपचार पाइरहेका छन् । नियमित शिविर सञ्चालन गरिदा गरिव, बिपन्न बिरामीलाई धेरै राहत मिलेको वेलवारीकी उसा तामाङ बताउँछिन् । त्यहाँका जनताले सामान्य उपचारका लागि अस्पताल धाउनु पर्दैन, शिविरबाटै उपचार पाइरहेका छन् ।

शिविरमा उपचार सम्भव नभएका विरामीलाई पनि डा.शर्माले नोबेल अस्पतालमा बिशेष सहुलियतमा उपचार गराउँदै आएका छन् । उनले बिपन्न विरामीलाई अस्पतालमा निःशुल्क उपचार गराइदिने गर्छन् । अति विपन्न विरामीले अस्पतालमा निःशुल्क उपचार मात्र पाएका छैनन, उनीहरुलाई अस्पताल बस्दा खाना र खाजा पनि डा. शर्माले नै उपलब्ध गराइदिने गरेका छन् । त्यहाँका सयौं अति विपन्न विरामीले डा.शर्माबाट यस्तो सेवा लिइसकेका छन् ।

उत्कृष्ट शिक्षाको अवसर

चुनावी क्षेत्रका जनतालाई सक्दो सहयोग गर्दै आएका डा.शर्माले स्वास्थ्य उपचारमा मात्र नभएर स्वास्थ्य शिक्षा निःशुल्क अध्ययनका लागि पनि बिद्यार्थीहरुलाई अवसर दिएका छन् । सो क्षेत्रका बिपन्न, दलित र पिछडाबर्गका सयौं बिद्यार्थीलाई डा.शर्माले स्वास्थ्य क्षेत्रको महंगो शिक्षा हासिल गर्ने अवसर जुटाईदिएका छन् । एक हजार विद्यार्थीलाई निःशुल्क पढाउँने घोषणा गरेका डा.शर्माले पाँच सय भन्दा बढी विद्यार्थीलाई ल्याब टेक्निसियन, स्टाफ नर्श, एमबीबीएस लगायत विषय निःशुल्क पढाइसकेका छन् । उनले सो क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि बिभिन्न समयमा शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गर्दै आएका छन् ।

महामारीमा राहतका लागि ३० लाख, गाउँ–गाउँमा एम्बुलेन्स

उनले कोरोनाको महामारीका बेला सो क्षेत्रका सर्वसाधरणलाई राहतका लागि ३० लाख रकम प्रदान गरेका थिए । आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिहरुलाई बिभिन्न समयमा सहयोग गर्दै आएका छन् । सो क्षेत्रका २६ वटै वडामा एम्बुलेन्स दिने घोषणा गरेका डा.शर्माले अहिलेसम्म त्यहाँ ६ वटा एम्बुलेन्स दिइसकेका छन् ।

विकास निर्माणमा पनि व्यक्तिगत सहयोग

बिकास निर्माणका लागि पनि ३ नम्बर क्षेत्रबासीलाई डा.शर्माले व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । उनले बेलवारी–४ वेतना सिमसारदेखि शान्तिचौकसम्मको करिव डेढ किलोमिटर सडक दुई करोडको लगानीमा कालोपत्रे गराईदिदा सो क्षेत्रबासीलाई राहत मिलेको छ । बेलवारी–४ बुधबारेस्थित सरस्वती मार्ग कालोपत्रे गर्न पनि डा.शर्माले सहयोग गरेका थिए । यस्ता धेरै काममा उनले सहयोग गर्दै आएका छन् । आफ्नो चुनावी क्षेत्रका जनताका लागि व्यक्तिगत तवरबाट यति ठूलो सहयोग गर्ने सम्भवत नेपालकै पहिलो नेता हुन् डा.शर्मा ।

चुनाव हार्दा पनि जनताको सहयोग र सेवामा सधै काम गरिरहेका डा.शर्मा अब भने जनताले विश्वास गरेर चुनाव जिताउँनेमा ढुक्क छन् । ‘मैले २०७४ को चुनाव जित्न नसकेपनि ४० हजार जनताको मत पाएको थिए, चुनाव हार्दा पनि म जनताकै सेवामा सधै काम गरिरहेको छु, यो पाली चै जनताहरुले पक्कै जिताएर थप सेवा गर्ने मौका दिनुहुन्छ भन्ने लागेको छ,’ डा.शर्मा भन्छन्, ‘म आश्वासन बाढ्ने हैन, काम गरेर देखाउँन चाहन्छु, यस पटक जनताले पक्कै मलाई विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!