धनकुटा, २२ माघ । प्रेस चौतारी नेपाल धनकुटाले प्रदान गर्दै आएको छिन्ताङ्ग–खोकु–आँखिसल्ला शहिद स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस वर्ष रेडियो नेपाल १ नम्वर प्रदेश प्रसारण धनकुटाका सम्पादक तिलविक्रम चेम्जोङ्ग पुरस्कृत भएका छन् ।
यसैगरी प्रेस चौतारी सम्मानबाट प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई सम्मानित भएका छन् ।
प्रेस चौतारी नेपालको २० औ स्थापना दिवसको अवसरमा सोमवार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । विगत दुई दशक भन्दा लामो समय देखि धनकुटामा रहेर पत्रकारिताको विकासमा महत्वपुर्ण योगदान दिदै आएको भन्दै चौतारीले स्थापना दिवसको अवसरमा सम्मान सहित पुरस्कृत गरेको जनाईएको छ ।
सम्मानित एवं पुरस्कृत व्यक्ति चेम्जोङ्गलाई नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई र प्रेस चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले सम्मानपत्र सहित नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरे । चेम्जोङ्ग वि.स २०५३ साल देखि साविकको रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र र हालको एक १ नम्वर प्रदेश प्रसारण केन्द्र धनकुटामा कार्यरत छन् ।

सोही अवसरमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएकोमा प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईलाई वधाई सहित सम्मान गरिएको छ । उनलाई प्रेस चौतारीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ । सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सदस्य राईले श्रमजीवि पत्रकारको पक्षमा रहेर कार्य गर्ने बताए ।

उनले पत्रकारिताको माध्यमबाट जिल्लाको विकास र आर्थिक समृद्धिका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै प्रतिनिधिसभामा पत्रकारहरुको पक्षमा आफुले भुमिका खेल्ने बताए । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रेस चौतारी नेपाल धनकुटाका पुर्व अध्यक्ष भेषराज कटेल,नेपाल पत्रकार महासघं धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,पुरस्कृत तथा सम्मानित व्यक्ति तिलविक्रम चेम्जोङ्ग,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला,प्रेस सेन्टरका केन्द्रीय सदस्य सरिता राई,फोनिज धनकुटाका अध्यक्ष सन्तविर लामा, रिपोटर्स क्लब धनकुटाका अध्यक्ष विनोद घिमिरे लगायतले शुभकामना सहित आ–आफ्नो भनाई राखेको थिए ।

प्रेस चौतारी नेपालले स्थापना गरेको छिन्ताङ्ग–खोकु–आखिँसल्ला शहिद स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक वर्ष स्थापना दिवसको अवसर पारेर धनकुटाका क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रुचालले बताए ।















