पाँचथर । लुबुघाटस्थित तमोर नदीमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्षित गर्दै उनले पसल र होटेल पनि खोले ।
मोटरेबल पुल बनेपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको संख्या अझै बढेर व्यवसाय फस्टाउँने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट लुबुघाट बसाई सरेका बुढाथोकी छोरो आफू जत्तिकै अग्लो हुन लाग्दासमेत पुल बनिनसक्दा दिग्दार मान्छन् । ‘बर्सेनी काम गरेको देखाउन खोजिन्छ । निर्माण कार्य पूरा गर्न ठेकेदारको चासो छैन,’ उनी भन्छन्, ‘मेरो छोरो लाठे भइसक्यो, पुल जस्ताको तस्तै छ ।’
पाँचथर र तेह्रथुम जिल्लालाई जोड्नेगरी लुबुघाटस्थित तमोर नदी माथि मोटरेबल पुल निर्माण थालिएको ११ वर्ष बितिसक्यो । तर, अझै निर्माण पूरा भएको छैन । सडक विभाग मातहतको पुल सेक्टरले १७ करोडको लागतमा २०६८ असार २६ गते स्वच्छन्द निर्माण कम्पनीलाई पुल निर्माणको ठेक्का दिएको थियो । तीन वर्षभित्र निर्माण गर्नुपर्ने सम्झौता भएपनि अहिलेसम्म आधा मात्रै काम भएको छ । एक सय ५७ मिटर लम्बाइ र तीन मिटर चौडाइको पुलको चार वटा पिलर उठाइ ढलान गरिएको पाँच वर्ष बित्न लाग्यो तर बाँकी चार वटा पिलर उठाइ ढलान गर्ने काम अघि बढ्न सकेको छैन ।
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकाको सीमामा पुल निर्माण पुरा भएमा दुई जिल्लाका सदरमुकाम सबैभन्दा छोटो दूरीको सडकबाट पुगिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर तथा तेह्रथुमको म्याङ्लुङबाट १९ किलोमिटरको दूरी रहेको पुल निर्माण नहुँदा दुवै जिल्लाका नागरिकले सास्ती भोग्दै आएका छन् । तमोर करिडोर सडकमा सवारी साधन सञ्चालन हुन थालेपछि यो पुल पाँचथरभन्दा पनि तेह्रथुमवासीका लागि झनै अत्यावश्यक छ । म्याङलुङबाट १९ किलोमिटरमा रहेको यो पुल निर्माण भए यहाँबाट दुई घण्टामै सुनसरीको धरान पुगिन्छ । यो पुल बन्नासाथ म्याङलुङ–धरानको दूरी तीन घण्टामै खुम्चन्थ्यो । तर, अहिले तेह्रथुमबाट धनकुटा हुँदै आठ घण्टाभन्दा बढी समय लगाएर तराई पुग्नुपर्ने बाध्यता छ ।
अर्कोतर्फ पाँचथरको उत्तरेबाट यासोक हुँदै लुबुघाट जोड्ने सडक तथा म्याङलुङबाट लुबुघाट जोड्ने सडक सङ्घीय सरकारको लगानीमा कालोपत्र गरिएको छ । तर, सडक कालोपत्र भइसक्दासमेत पुल निर्माण पूरा हुनेमा स्थानीयवासी विश्वस्त छैनन् । पुल निर्माण गरिरहेको निर्माण कम्पनीको लापरबाही र नियमनकारी निकायको वेवास्ताका कारण पुल निर्माण रोकिएको स्थानीयवासी बताउँछन् ।