रबिन कटेल

मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नं.४ मा नेपाली कांग्रेसले सानदार विजय हासिल गरेको छ । कांग्रेसका लोकप्रिय नेता डा.सुनिल शर्माको घरसमेत रहेको सो वडामा कांग्रेस उम्मेदवार चन्द्रबहादुर लिम्बुले शानदार विजय प्राप्त गरेका हुन् । सो वडामा कांग्रेसको प्यानलनै विजयी भयो ।

Advertisement

२४८९ मतसहित कांग्रेस उम्मेदवार लिम्बू वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामकुमार राईले ८५३ मत प्राप्त गरेका छन् । यसअघिका निर्वाचित वडाध्यक्षसमेत रहेका माओवादी उम्मेदवार राईलाई १६३६ मतान्तरले पराजित गर्दै कांग्रेस उम्मेदवार लिम्बू वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

७००९ मतदाता रहेको सो वडामा ४८०१ मत खसेको थियो । वडाध्यक्ष पदमा छ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । चुनावी मैदानमा रहेका एमालेका सुजित कुमार बस्नेतले ८४७, जसपाका रमेश गुरुङले ८०, मंगोल नेशनल अर्गनाइजेशनका गोल्छा राईले ६२ र राप्रपाका नविन कोइरालाले ४२ मत पाए । वडाध्यक्षका बाँकी पाँच उम्मेदवारले कूल सदर मतको ४३.०८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार लिम्बू एक्लैले ५६.९१ प्रतिशत मत प्राप्त गरेका हुन् । त्यस्तै, वडा सदस्यहरुमा पनि कांग्रेसका दिनेश चौधरी, दिनेश कुमार सुवेदी, भीमकुमारी गुरुङ र यसोदा मगराती विजयी भएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस महासमिति सदस्य डा.शर्मा सोही वडाबासी हुन् । गत प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं.३ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका डा.शर्माले सो क्षेत्रका नागरिकलाई बिभिन्न सहयोग गर्दै आएका छन् । गरिब बिपन्नलाई निःशुल्क उपचार र निःशुल्क चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेबापत सो क्षेत्रमा डा.शर्मा लोकप्रिय छन् । उनको प्रभावले पनि सो वडामा कांग्रेसले सानदार विजय प्राप्त गरेको स्थानीयबासी बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement