पत्रपत्रिका खवर

काठमाडौं । नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए ।

Advertisement

महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए ।

एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका छैनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएको अवस्थामा प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने भएको छ ।

नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेसका महाधिवेशनमा अध्यक्ष ओली शुभकामना दिन जाने कार्यक्रम रहेको बताए । एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आएका छन् । यसअघि संसद्को अवरोध हटाउनको प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको थियो । – आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!