गोमा ढुंगाना/संगालोखबर

काठमाडौं । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ। निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ। यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवासुविधासम्म पनि असमान देखिन्छ।

Advertisement

यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ। पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ। महिलातर्फ भने ५ लाख मात्रै छ। पुरुषतर्फ उपविजेताले १० लाख पाउँदा महिलातर्फ ३ लाख रुपैयाँ छ।

परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल सेवासुविधाको असमानताबारे अहिलेसम्म उजुरी नआएको बताउँछिन्। ‘महिला र पुरुष खेलाडीबीचको सेवासुविधामा असमानता छन्। यस विषयमा अहिलेसम्म कसैले पनि आवाज उठाएका छैनन्’, कार्यकारी बोर्ड सदस्य बस्याल भन्छिन्, ‘यस विषयमा टिम प्रशिक्षक र व्यवस्थापकले पनि आवाज उठाउनुपर्छ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ खेलकुदमा महिलाको बढ्दो सहभागिता र सफलताले विभेद कम भएको बताउँछन्। ‘खेलकुदमा महिला र पुरुष खेलाडीबीचको विभेद पहिले धेरै हुन्थ्यो। पछिल्लो समय महिलाको सहभागिता र सफलताले विभेदको अनुपात कम भएको छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘महिला र पुरुषले पाउने पदक समान हुन्छ। पदकमा भेदभाव हुँदैन। तर, सेवासुविधा र पुरस्कार राशिमा भेदभाव गरिँदै आएको छ।’

लकुदलाई अनुकरणीय बनाउन पनि सेवासुविधा र पुरस्कार राशिमा समानता हुनुपर्ने उनी बताउँछन्। ‘यसमा सबैभन्दा पहिले संघले पहल गर्नुपर्छ। महिलाको सहभागिता बढाउने हो भने सबै कुरामा समानता ल्याउनै पर्छ’, आठौं र नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता श्रेष्ठ भन्छन्, ‘खेलकुदमा अवसर पनि महिलालाई बढी छ।’

बागमती प्रदेश खेलकुद परिषद्ले गत असोजमा प्रदेशस्तरीय रग्बी प्रतियोगिता आयोजना गरेको थियो। एकदिने प्रतियोगिताको उपाधि पुरुषमा भक्तपुर र महिलामा नुवाकोटले जिते। तर, पुरुषलाई १५ हजार र महिलालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। परिषद्ले महिला र पुरुष दुवैको प्रतियोगिता गरे पनि पुरस्कारमा विभेद गर्‍यो।

नेपाली रग्बी टोलीका कप्तान कृष्ण थापा क्षत्री रग्बीमा पहिलो पटक नगद पुरस्कार राखेर प्रतियोगिता गरेका कारण खुसी लागेको सुनाउँछन्। तर, पुरस्कार रकम र लैंगिक विभेदका कारण दुःख लागेको कप्तान क्षत्री बताउँछन्। उनका अनुसार पुरस्कार राशि भने वडास्तरीयभन्दा पनि कम हो। ‘यो दुखद् हो। अब प्रतियोगिता मात्र होइन, पुरस्कार पनि समान हुनुपर्छ’, उनी भन्छन्। – यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा विष्णु थापाले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement