पत्रपत्रिका खवर

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो ।

Advertisement

कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सोमबारदेखि नयाँ आवदेन खुला गरिएको जानकारी दिएका छन् । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ,’ प्रवक्ता भुसालले भने ।

अहिले आवेदन दिने सेवाग्राहीको पालो भने चार/पाँच महिनापछि मात्रै आउने भएको छ । यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ । आवेदन फर्म भर्नका लागि सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म भर्न सक्ने विभागले जनाएको छ । अनलाइन फारम भर्नका लागि विभागको वेबसाइटमा गएर भर्न सकिने व्यवस्था मिलाइएको छ ।

विभागको बेवसाइट खोलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्न सकिनेछ । त्यसपछि पेजको सबैभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन देखिनेछ त्यसमा क्लिक गरेपछि नयाँ पेज देखिनेछ । नयाँ क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यु, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले जनाएको छ । त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्न सकिने विभागले जनाएको छ ।

स्मार्ट लाइसेन्सको छपाइ ढिलाइ हुँदा अहिले काठमाडौं उपत्यकाभित्र लिखित र ट्रायल पास गरेकाहरूलाई विभागले परीक्षणकालीन लाइसेन्स दिँदै आएको छ । स्मार्ट लाइसेन्सको छपाइमा अहिले पनि सुस्तता देखिएको छ । हाल छपाइको काम बन्द रहेकोमा तिहारपछि सुरु गरिने विभागले जनाएको छ ।

यसअघि, कोभिड–१९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेस्रो साता खुलाइएको थियो । त्यसयता, विभागले ट्रायल परीक्षा सञ्चालनका लागि कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड २०७८ ल्याएर ट्रायल परीक्षा सञ्चालन गराउँदै आएको छ ।

विभागले साउन अन्तिमबाट नै लाइसेन्स परीक्षा खुलाउने तयारी गरेको थियो । पछिल्लो समय कोभिड संक्रमित संख्यामा वृद्धि भएपछि परीक्षा खुलाउन विभागपछि हटेको थियो । पछिल्लोपटक लोकसेवाको परीक्षा तथा कक्षा १२ परीक्षासमेत भौतिक रूपमा हुने भएपछि विभाग लाइसेन्सको परीक्षा खुलाउनेमा पुगेको थियो ।

२०७६ चैतको लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको थियो । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!