काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततातर्फ अघि बढेको छ । कांग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुंग्याएसँगै कांग्रेसको १४औं महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो ।
कांग्रेसको महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट सुरु हुने कार्यतालिका छ । अब १८ भदौबाटै वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति बनेको हो । ‘क्रियाशील सदस्यता टुंगिएका र केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएका जिल्लामा १८ भदौमा नै वडा अधिवेशन हुनेछ, बाँकी जिल्लामा निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोक्ने र क्रियाशील सदस्यको सूची सार्वजनिक गरेर २२ भदौभित्रै वडा अधिवेशन सम्पन्न गर्ने सहमति शीर्ष तहमा भएको हो,’ कांग्रेस उच्च स्रोतले राजधानीसँग भन्यो ।
यस्तै २७ भदौमा सुरु हुने पालिका अधिवेशनपछिका पूर्वनिर्धारित अधिवेशनका कार्यक्रम भने निर्धारित मितिमा नै गर्नेगरी शीर्ष तहमा शनिबार साँझ सहमति जुटेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अब सुनिश्चिततातर्फ अघि बढेकाले सबैलाई महाधिवेशन केन्द्रित हुन आग्रह गरे ।
‘सबै विषयमा सहमति बनेको छ, अब महाधिवेशन सुनिश्चित भयो, सबै पार्टी पंक्तिलाई अब महाधिवेशन केन्द्रित हुन आग्रह गर्छु,’ वरिष्ठ नेता पौडेलले राजधानीसँगको टेलिफोन संवादमा भने ।
क्रियाशील सदस्यताको विवाद मिलाउनेदेखि पार्टी केन्द्रीय कार्यालयमा भएका अनसन तोडाउनेसम्मको काममा अग्रसरता लिएका नेता कृृष्णप्रसाद सिटौलाले कोरोना महामारीको संक्रमणकैबीच महाधिवेशनमा अघि बढ्नुपर्ने अवस्थालाई ख्याल गरेर अघि बढ्न सबै तहका नेताकार्यकर्तालाई आग्रह गरे ।
‘महाधिवेशन अब सुनिश्चित भयो, कोरोनाकैबीच महाधिवेशन हुँदै छ, सबै तहका साथीहरूले सावधानी अपनाएर महाधिवेशनको प्रक्रियामा सहभागी हुनुहोला,’ जिल्ला सभापतिहरूको अनसन तोडाएलगत्तै सिटौलाले भने ।
सहमतिअनुसार क्रियाशील सदस्यताको देशभरको विवरण सार्वजनिक गर्ने, १८ भदौमा वडा अधिवेशन सुरु गरेर २२ गतेभित्र सक्ने, देशैभर एकै साथ २७ भदौमा पालिका अधिवेशन गर्ने, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिलाई महासमिति सदस्य हुन बाटो खुला गर्नेलगायतको सहमति भएको हो ।- यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।