काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्दार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।
सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्दार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।
यता परराष्ट्र मन्त्रालयले भने उद्दारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ ।अफगानिस्तानमा कति नेपाली उद्दारको पर्खाइमा छन् भन्ने पूरै विवरण अझै आइसकेको छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ३ सय ५६ जना नेपालीहरूले उद्दारका लागि आफ्नो विवरण दर्ता गराएका छन् । ती नेपालीको उद्दार कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै पहल थाल्न सकेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार उद्दारका लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगेकाहरूको विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्दारका कार्यहरू अगाडि बढाइरहेको बताएको छ । आइतबार परराष्ट्र मन्त्रालयले मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठक राखेर उद्दारको पहल गर्ने भनेको छ । उद्दार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय गर्ने जनाएको छ । परराष्ट्रले हाल उद्धार उडान गरेका राष्ट्रहरूसँग समन्वय र सहकार्य गर्ने भनेको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।