सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ घर भई ईटहरी–५ बस्दै आएका २७ बर्षीय दिपक भनिने बिरेन्द्र राई, ईटहरी–५ का १६ बर्षीय एक बालक र ईटहरी–४ का १८ बर्षीय जोन चौलागाई छन् ।
उक्त स्थानको एक होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले शनिवार राती पौने १२ बजे ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, एउटा तौल नाप्ने डिजिटल उपकरण, ३ वटा बिभिन्न कम्पनीका मोबाइल, एउटा मोटरसाइकल र दुई हजार नगदसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी–४ का २३ बर्षीय विबेक खड्काकोसमेत संलग्नता रहेको खुलेपछि प्रहरीले २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र एउटा मोबाइलसहित खड्कालाई पक्राउ गरेको छ ।
पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।