रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लाभर १५ दिनका लागि निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार अपरान्ह सूचना जारी गरेर शुक्रबार राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएको छ ।

Advertisement

निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न पाइनेछैन । औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु मात्र खुल्ला रहनेछन् । खाद्यान्न, फलफुल, तरकारी, पानी, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस लगायत दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइनेछ । होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु पूर्ण रुपमा बन्द हुँनेछन् । भेडेटार, मुलघाट, धनकुटा, हिले, जोरपाटी र सिधुवा बजार क्षेत्र बाहेक हाइवेमा पर्ने होटल तथा रेष्टुरेन्ट भने विहान ८ बजेदेखि वेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, शव बाहन, दमकल, फोहोरमैला व्यवस्थापनमा प्रयोग हुँने गाडी, खाद्यान्न, तरकारी, फलफुल, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस, पशु आहार, कुखुराको दाना, फलफुलका विरुवा, इन्धन, अस्पताल र आइसोलेशनमा प्रयोग हुँने स्वास्थ्य सामाग्री र निर्माण समाग्री वोकेका सवारी साधन भने सञ्चालन हुँन पाउँनेछन् । समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीहरुले सूचना विभागले दिएको पास वा सञ्चार सस्थाले दिएको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउँनेछन् ।

अति आवश्यकमा पर्ने सरकारी कार्यालय तथा सार्वजनिक निकायले न्यून संख्यामा कर्मचारी राखेर सेवा सञ्चालन गर्नुपर्नेछ भने अति आवश्यक सेवाभित्र नपर्ने कार्यालय बन्द हुँनेछन् । बैंक तथा वित्तिय संस्था सिमित कर्मचारी मात्र राखेर हप्ताको तीन दिन सोम, वुध र शुक्रबार विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । विवाह, व्रतवन्ध र मलामीमा २५ जना भन्दा बढी सहभागि हुन पाइनेछैन । निषेधाज्ञा उल्लंघन गरेमा कारबाही गरिने प्रशासनले जनाएको छ ।

यस्तो छ निषेधाज्ञा आदेश

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!