सन्तोष रुचाल

धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि धनकुटाको चौविसे गाउँपालिकामा तीन दिन सवारी आवतजावत बन्द गरिने भएको छ । गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा पनि बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

गाउँपालिकाको कार्यालयमा कार्यरत ३ जना कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सीसीएमसीको शुक्रबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो । शुक्रबार राती १२ बजेदेखि जेठ ३ गते राती १२ बजेसम्म यातायात र गाउँपालिकाको कार्यालयबाट प्रवाह हुँने स्वास्थ्य बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । बैठकले सो क्षेत्र हुदै संचालन हुने सम्पुर्ण सवारीसाधनहरु बन्द गर्ने निर्णय गरेको हो । सामाजिक संस्कार अन्तरगत विवाह, भोजभतेर, ब्रतबन्ध जस्ता कार्यहरु स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै संचालन गर्न पाईने छ भने मठ, मन्दिर, चर्च, गुम्बा, लगायतका धार्मिक संस्थाहरु पूर्णरुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

सो अवधीमा कोरोना भाइरसको लक्षण देखिएका बिरामी र कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्ने कार्य भने जारी रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए । सो गाउँपालिकाको ८ वटै वडामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई यस अघि नै गाउँपालिकाले गाउँपालिका क्षेत्र भन्दा बाहिर नजान निर्देशन गरी सकेको छ । निषेधाज्ञा सम्बन्धी थप निर्णय जेठ ३ गते बस्ने सीसीएमसीको बैठकले गर्ने बताइएको छ ।

चौबिसे गाउँपालिकामा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पताल धनकुटाको ल्याबमा गाउँपालिकामा कार्यरत २३ जना कर्मचारी र सो गाउँपालिकाको वडा नं. १ छ नम्बर बुधवारे बजार क्षेत्रका २४ जना गरी ४७ जनाको पीसीआर परिक्षण गर्दा ३ कर्मचारी र १३ जना सर्वसाधारणमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!