धनकुटा । सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमा छोरीले आमाको काजकिरीया गरेकी छन् । दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन् ।
बैशाख १० गते धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा मोटरसाइकल दुर्घटना हुँदा जानुका गंभीर घाइते भएकी थिइन् । भाई गजेन्द्रले चलाएको मोटरसाइकल दुर्घटना हुँदा दिदी–भाई नै घाइते भएका थिए । दुबै जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ्ग होम पुर्याइएको थियो । सामान्य घाइते भएका गजेन्द्र अस्पतालबाट डिस्चार्ज भए भने जानुकाको उपचार सम्भव नहुँने भन्दै अस्पतालले घर फर्काइदियो । घर ल्याइपुर्याएको करिव आधा घण्टापछि बैशाख १२ गते राती करिव साढे ८ बजे जानुकाको मृत्यु भएको हो ।
विवाह गरी संखुवासभाको आँखिभूँई गएकी जानुकाको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । उनी छोरी प्रितिजालाई सँगै लिएर माइतीसँगै बस्दै आएकी थिइन् । आमाको मृत्युपछि १२ बर्षीया छोरी प्रितिजाले आमाको चितामा दागबत्ती दिनुका साथै काजकिरीया पनि उनैले गरेको प्रदेश सभा सदस्य कुशुम कुमारी श्रेष्ठले जानकारी दिइन् । ‘विवाह गरेर गइसकेकाले माइतीसँग पनि गोत्र फरक पर्यो, श्रीमानसँग पनि सम्बन्ध विच्छेद भएर बेग्लै बस्दै आएकाले छोरीले काजकिरीया गरेकी हुन्,’ प्रदेश सांसद् श्रेष्ठले भनिन्, ‘काजकिरीया गर्न छोरा नै चाहिन्छ भन्ने परम्परालाई तोड्दै यसले छोरीले पनि कानकिरीया गर्न सक्छन् भन्ने पाठ पनि सिकाएको छ ।’
प्रितिजाले १२ दिनको काजकिरीया विहिबार सकेकी छन् । उनी धनकुटा बजारस्थित निजामती आवासिय विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै आएकी छन् ।