
खोटाङ । खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१ स्थित कदुवामा शनिवार तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् ।
हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री वोकेको बा ३ ख ९२८५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका–१ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमरियाले संगालोखबरलाई बताए ।

दुर्घटनामा घाइते भएका मध्ये २२ जनाको अवस्था गम्भीर छ भने १६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ३९ जना सवार थिए । जसमध्ये एक जनाको मृत्यु भएको हो भने चालकसहित वाँकी सबै यात्रु घाइते भएका हुन् । सप्तरीबाट हलेशी दर्शनका लागि आएका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो ।
बस सडकबाट १५ मिटर तल खसेर सडक ढाक्दा सवारी आवतजावत अवरुद्ध भएको थियो । दिउँसो २ः१५ बजे जेसीवी लगाएर दुर्घटनाग्रस्त बसलाई पाखा लगाई सडक सूचारु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















