
धनकुटा । धनकुटाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २० जनाको परीक्षण गर्दा गएराती पाँच पुरुष र तीन महिलाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित सात जना विद्यार्थी हुन् भने एक जना विरामी हुन् ।
धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत पाँच छात्र, दुई छात्रा र जिल्ला अस्पतालमा आएकी एक विरामी बृद्धाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।
हेल्थ साइन्समा अध्ययनरत २०, १८, २१, १८ र २५ बर्षीय छात्र तथा २३ र २० बर्षीया छात्रामा संक्रमण पुष्टि भएको छ । यता, जिल्ला अस्पतालमा उपचारका लागि आएकी धनकुटा–१ की ६५ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । संक्रमित सबै लक्षणसहितका छन् । उनीहरुमा ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या देखिएका छन् ।
हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा गत वुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्राक्ट ट्रेसिङका आधारमा कलेजका १८ जना र जिल्ला अस्पतालमा आएका दुई जना विरामीको पीसीआर परीक्षण गरिएको हो ।
यसअघि धनकुटा–१० का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटा नगरक्षेत्रमा सक्रिय संक्रमितको संख्या १० पुगेको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।















