संगालोखबर सम्वाददाता

सुनसरी । मोटरसाइकल चोरीको आरोपमा धरानबाट पाँच युवा पक्राउ परेका छन् । धनकुटाका दुईसहित तेह्रथुम, सुनसरी र सोलुखुम्बुका एक/एक जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का १९ बर्षीय रवि राई, धनकुटा नगरपालिकाका २५ बर्षीय विसन श्रेष्ठ, धरान बुद्धमार्गका २२ बर्षीय रोशन मास्के, तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका–७ का २० बर्षीय अल्वट लिम्बु र सोलुखुम्वु नेचा सल्यान गाउँपालिका–२ का २२ बर्षीय राज राई छन् । दुई फरक–फरक चोरीका घटनामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार संजय विश्वकर्माले धरान–१९ स्थित धनकुटे रोडमा पार्किङ गरेर राखेको को १८ प ३९७९ नं. को १५० सीसीको कालो निलो रङको पल्सर मोटरसाइकल मंगलवार राती १२ बजे चोरी भएको थियो । वुधवार धरान–२० स्थित सुन्तलेमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा धनकुटातर्फ लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल फेला पर्यो । चोरी भएको मोटरसाइकल फेला परेपछि मोटरसाइकल कुदाउँने धरानका रोशन र पछाडी सवार धनकुटाको साँगुरीगढीका रविलाई प्रहरीले पक्राउ गरेको हो ।

रबि राई र रोशन मास्के

यता, धरान–४ स्थित मनशान्त होटल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा गत चैत ३० गते राती करिब ९ बजे मनिष लिम्वुको को १४ प ६४४४ नम्वरको मोटरसाईकल हराएको थियो । खोजी गर्ने क्रममा धरान–१५ श्याम चौकमा सोलुखुम्बुका राजले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा वुधवार सो मोटरसाइकल फेला पर्यो ।

राज, बिसन र अल्बट

धनकुटाका विसन र म्याङ्लुङ्गका अल्वटले २ वटा भीआर मोटरसाइकल चोरेर ल्याई ग्यारेज सञ्चालक राजसँगको मिलोमतोमा मोटरसाइकलका पाटपुर्जा एक अर्कामा साटफेर गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीका दुवै घटनामा संलग्न पाँचै जनाविरुद्ध प्रहरीले जिल्ला अदालत सुनसरीमा चोरी मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!