काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक-दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ ।’

Advertisement

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।

सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ ।

उनका अनुसार मंगलबार बिहानैबाट कार्यदल बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउनेछन् ।

कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घण्टा चलेको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । ‘हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ,’ उनले भनिन्, ‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!