धनकुटा । धनकुटाका ५५ बर्ष माथि उमेर भएका २२ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ । सरकारले तोकेबमोजिम ५५ बर्ष माथि उमेरका कूल २२ हजार ४ सय ९३ जनालाई आगामी २२ गतेबाट सुरु हुने खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
बुधबार स्वास्थ्य कार्यालयले धनकुटामा पत्रकार सम्मेलन गर्दै खोप अभियानमा जिल्लाका ७ वटै पालिकामा १ सय ७५ खोप केन्द्रबाट १ सय ७५ स्वास्थ्यकर्मी र तीन सय ५० स्वयम्सेवक खटाएर खोप अभियान चलाईने जानकारी दिएको हो ।
खोप अभियानमा जिल्लामा अग्रपंतिमा रहेर छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई खोप लगाईनेछ । अग्रपंतिमा रहेर काम गरिरहेका मात्र नभएर प्राथमिकताका आधारमा दीर्घरोगीहरुलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।
उनका अनुसार दुई चरणमा खोप लगाइनेछ । पहिलो चरणमा १ हजार १ सय १५ स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कैदिबन्दि, बृद्ध–बृद्धा र सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।