संगालोखबर सम्वाददाता

धनकुटा । दाताहरुबाट संकलित रकमको सहायताले धनकुटाको सहिदभूमि गाउँपालिका–२ ढोलमुखाकी अम्मल राईको मृगौला प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा सोमबार २३ बर्षीया राईको मृगौला सफलतापूर्वक प्रत्यारोपण भएको परिवार स्रोतले जनाएको छ ।

Advertisement

करिब १० बर्षअघिदेखि राईको दुवै मृगौलामा समस्या देखिएको थियो । नियमित डायलाइसिस गराउँदै आएकी अम्मललाई उनकी दिदी सिर्जनाले एउटा मृगौला दिने तयारी गरेको भएपनि आर्थिक अभावले मृगौला प्रत्यारोपण हुन सकेको थिएन । अम्मललाई मृगौला प्रत्यारोपण गरेर ज्यान बचाउँनका लागि भन्दै देश, विदेशमा भएका नेपालीहरुबाट आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

धनकुटाको खोकुका नन्द कुमार राइको संयोजकत्वमा अम्मल राई बचाउँ अभियान नै सञ्चालन गरी सहयोग संकलन गरिएको हो । बिभिन्न माध्यमबाट झण्डै ४ लाख सहयोग रकम संकलन भएपछि परिवारले थप रकम ऋण खोजेर बहिनीको मृगौला प्रत्यारोपण गरिएको अम्मलकी दिदी भ्रमणले जानकारी दिइन् । उनका अनुसार मृगौला प्रत्यारोपण गर्न सात लाखभन्दा बढी खर्च भइसकेको छ ।

मृगौला प्रत्यारोपण सफलतापूर्वक भएपछि अहिले अम्मलको स्वास्थ्यमा सुधार हुँन थालेको छ । दाताहरुको साथ र सहयोगबाट अम्मलको मृगौला प्रत्यारोपण गर्न सकिएको भन्दै परिवारका सदस्यले सहयोगीहरुप्रति आभार प्रकट गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!