संगालोखबर सम्वाददाता

धनकुटा । परीक्षार्थीको उत्तरपुस्तिका साटेको आरोप लागेका धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको कार्यकक्ष विद्यार्थीले कब्जामा लिएका छन् । सहायक क्याम्पस प्रमुख पोख्रेलको कार्यकक्षबाट आज बिहान टेवल कुर्सी निकालेर विद्यार्थीहरुले ग्राउण्डमा राखी उनीविरुद्ध व्याङ्ग्यात्मक प्रदर्शन गरेका हुन् ।

स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्पस प्रमुख पोख्रेलले एक महिला परीक्षार्थीको बस्तुगत प्रश्नको उत्तरपुस्तिका साटेको आरोप छ । क्याम्पसमा कार्यरतसमेत रहेकी महिला परीक्षार्थीलाई बढी नम्बर दिलाउँन परीक्षार्थीसँगकै मिलेमतोमा सहायक क्याम्पस प्रमुख पोख्रेलले परीक्षार्थीको कपीको सट्टामा आफुले उत्तर लेखेको कपी राखिदिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । यो विषय बाहिरिएपछि विद्यार्थीहरुले घटनाको छानविन गरी सहायक क्याम्पस प्रमुख पोख्रेललाई निलम्बन गर्न माग गरेका छन् । नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले मंगलबार बेग्ला–बेग्लै विज्ञप्ति जारी गरेर घटनाको छानविनका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, क्याम्पस प्रशासनले त्यसलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् ।

नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुख पोख्रेलको कार्यकक्षबाट टेवल कुर्सी निकालेर ग्राउण्डमा राखेका हुन् । उनीहरुले सहायक क्याम्पस प्रमुख पोख्रेलविरुद्ध व्याङ्ग्यात्मक रुपमा प्लेकार्ड राखेका छन् । ‘वस्तुगत प्रश्नको उत्तरहरु चाहिएमा म तपाईहरुको आसपास मै छु, सिधै सम्पर्क गर्नुहोला,’ पोख्रेलको कुर्सी छेउमा टासिएको प्लेकार्डमा व्याङ्ग्यात्मक रुपमा लेखिएको छ–‘परीक्षामा सजिलै पास हुने इच्छा भएमा मलाई सम्पर्क गर्नुहोस् ।’

विद्यार्थीको मागलाई क्याम्पस प्रशासनले वेवास्ता गरेको र क्याम्पस प्रमुख पनि आरोपितको बचाउँमा लागेकाले विरोधस्वरुप व्याङ्ग्यात्मक प्रदर्शन गरिएको नेवीसंघका जिल्ला सभापति वालानन्द दाहालले संगालोखबरलाई बताए । यो विषयमा क्याम्पस प्रशासन गम्भीर नभएमा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले चेतावनीसमेत दिए । यता, सहायक क्याम्पस प्रमुख पोख्रेलले आफुले उत्तरपुस्तिका नसाटेको दावी गर्दै आएका छन् । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले पनि उत्तरपुस्तिका साटिने संभावना नरहेको जिकिर गरेका छन् ।

यो विषयमा क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुबीच पटक–पटक वार्ता भएका छन् । तर, वार्ता निस्कर्षविहिन बन्दै आएको छ । पछिल्लो पटक आज बिहान पुनः बैठक बस्ने कुरा भएपनि क्याम्पस प्रमुख सम्पर्कमा नआएको विद्यार्थीहरुको आरोप छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!