
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गएराती बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–५ का २५ बर्षीय डिगन गुरुङ छन् ।
बुधबार मध्यराती पौने १२ बजे भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका गुरुङसहित २६ वर्षीय कृष्ण कुमार राजधामी गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा राती पौने १ बजे गुरुङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
घाइते राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिकाका उदेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















