
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनमा कर्म थर्पोलिङ गुम्वा निर्माण गरिएको छ । संघीय सरकार, स्थानीय सरकार र विभिन्न सरोकारवाला संघ–संस्था तथा व्यक्तिको ३० लाख, ३८ हजार, १ सय ४५ रुपैयाँ लागतमा गुम्वा निर्माण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच गुम्वा उद्घाटन गरेका छन् । गुम्वाको मुल ढोकामा राखिएको पञ्चदिप प्रज्वलन गर्दै रिवन काटेर सांसद राईले गुम्वा उद्घाटन गरेका हुन् । गुम्वा उद्घाटन गर्दै सांसद राईले वर्तमान सरकार सवै खाले जाति समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न लागि परेको बताए । उनले अहिलेको राजनीतिक असुन्तलनकाबीच पनि केन्द्र, प्रदेश र स्थानीय सरकारले नागरिकको गाँस, वाँस र कपासको सवालमा कुनै कसुर वाँकी नराखी काम गरिरहेको दावी गरे ।
राईको सांसद विकास कोषबाट १० लाख, छथारजोरपाटी गाउँपालिकाबाट ९ लाख ३० हजार, काठमाण्डौं वौद्ध संघका अध्यक्ष वाङ्गदी लामाको तर्फबाट ५ लाख, विभिन्न संघ संस्थाहरुबाट १ लाख १५ हजार, कर्म थर्पोलिङ गुम्बाका सदस्यहरुबाट ४ लाख, १० हजार र वडा घेदुङका सदस्यहरुबाट ८२ हजार संकलन गरेर गुम्वा बनाइएको गुम्वा निर्माण समिति अध्यक्ष बीरवहादुर घिसिङ तामाङले बताए ।
२८५७ सोनाम ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसहित गुम्वा उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वू, उपाध्यक्ष भिमकला श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य शिव आङ्गला, जिल्ला घेदुङ अध्यक्ष विष्णु मोक्तान, फोनिज अध्यक्ष सन्तवीर लामा, छथरजोरपाटी–५ का वडाध्यक्ष सुरेन्द्र लिम्वू, ४ का वडाध्यक्ष टेकवहादुर घिसिङ, ताम्वा संघ अध्यक्ष हरिलाल मोक्तान, छथरजोरपाटी घेदुङ अध्यक्ष मनकुमारी गोले लगायतले शुभकामना मन्तव्य राखेका छन् ।















