विराटनगर । विराटनगर महानगर त्यसमा पनि प्रदेशको राजधानी प्रवेश गर्ने कोशी राजमार्गमा नियमित भइरहेको सडक अतिक्रमणलाई सम्बन्धित निकायले रोक्न सकेको छैन । चारलेन सडकमा ब्यवस्थित पेटी बनेपनि किनार र पेटी अतिक्रमणले पैदलयात्रीले सडकबाट हिंड्नु पर्ने बाध्यता छ ।
विराटनगर प्रवेशद्वार दक्षिण तर्फको सडकको दुबै पेटी र किनारमा निर्माण सामग्रीले पेटी बन्द गरि दिएको छ । पसलेले ब्यापार गरेका छन् भने ग्यारेज सञ्चालकले टायर राखेर नाला माथिको भाग र पेटी थुनेका छन् । राजवंशीचोक उत्तर र ढाटदेखि दक्षिणको एक किलोमिटर क्षेत्रमा सडक किनारमा माटो, बालुवा, इँटा, ढुङ्गा, गिटीलगायतका निर्माण सामग्री राखिएको छ ।
ढाट नजिकै सडक पूर्वको किनारमा जमिन पुर्नेले पेटीमा माटो थुपारेको महिनौ बितेकाले झार बढेर लामो भएको पनि महानगरपालिकाले देखेको छैन । प्रदेश प्रमुखको कार्यालय अगाडि पाथीभरा ट्रेडर्सले पेटीमा फलामे डन्डी राखेर ब्यापार गरिरहेको छ ।
सो कार्यालयमा प्रदेशका उच्च अधिकारीहरुको आवत जावत हुने गरेपनि पेटीको ब्यापारमा आँखा गएको देखिदैन । पश्चिमतर्फ अजिज मोटरसाइकल ग्यारेजले पुराना मोटरसाइकल किनारमा राखेर पैदलमार्ग बन्द गरिदिएको छ । नजिकैको सोफिया इन्जिनीयरिङ वर्कस्ले ग्रिलका सामग्री र फलामे गेट किनारमा राखेर पैदल हिंड्न नमिल्ने बनाएको छ । सगरमाथा ड्राइभिङ सेन्टरले राति किनारमा कार पार्किङ गर्दै आएको छ । मर्निङवाक गर्नेले सडकबाटै हिंड्नु पर्ने हुन्छ ।
पूर्वाञ्चल ग्राउण्ड वाटर ट्युवेल उद्योग छेउमा मुनाजिर मियाँको टायर रिपेयरिङ सेन्टरले किनारमा ठुला गाडीका पुराना टायर थुपारेको छ । दिब्या मेटल उद्योग छेउको ग्यारेजले पेटीमा टायर राखेको लामो समय भएको स्थानीयले बताए । शिव रिपेयरिङ वर्कशपले सडक पेटीमा टायरका चाङ लगाएर राख्ने गर्छ ।
प्रदेशको राजधानी छिर्ने मुख्य सडकमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु गाडीमा हिंड्दा उनीहरुले सडक किनारको समस्या देखेका छैनन् । कतिपय ठाउँमा महानगर प्रहरीले सडक अतिक्रमण हटाउने गर्छ । तर, राजवंशीचोक उत्तरको दुबै किनारको समस्यामा नगर प्रहरीको ध्यान पुग्न सकेको छैन ।
महानगर प्रहरीका निरीक्षक राजन पौडेल भने त्यस क्षेत्रबाट कुनैपनि गुनासो नआएकाले थाहा नपाएको बताउँछन् । ‘साइकल, गाडी गस्ती नियमित छ देखेको ठाउँमा हटाउँछौं, गुनासो आए अझ तत्कालै हटाउँछौं’ उनले भने ।
बरगाछी दक्षिणको चारलेन सडक किनारमा ट्राफिक प्रहरीले मोटरसाइकल समेत रोक्न दिंदैन । तर, आयल निगम कार्यालय अगाडिको सडकमा नियमित ट्याङ्करनै पार्किङ गरिन्छ । त्यहाँ भेटिएका ट्राफिक प्रहरीले ट्याङ्कर चालकले कसै गरेपनि नटेरेको सुनाए । ‘ट्याङ्करमा फलामको साङ्लो लगाउँदा पनि मान्दैनन्, प्रहरीलाई नै हातपात गर्छन्’ ती ट्राफिक प्रहरीले भने ।
जिल्ला ट्राफिक मोरङका प्रहरी निरीक्षक चन्द्र खड्काले आयल निगम डिपोका हाकिमलाई नै भनेर ट्याङ्कर पार्किङको ब्यवस्थापन गर्न आग्रह गर्ने बताए । सडकको पार्किङ हटाउँदा कुनैपनि चालकले विवाद गरेको आफूलाई थाहा नभएको उनको भनाई छ । ‘अब तत्कालै म कडाईमा उत्रिन्छु, सडकमा पार्किङ गर्न दिइंदैन’ खड्काले भने ।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सडक किनार र पेटीको अतिक्रण हटाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताए । प्रदेशको राजधानी भएकाले पनि सडकका अतिक्रमण निगरानी गरेर कडाईका साथ हटाउन लगाउने उनले बताए । ‘सडक अतिक्रमण हटाउंने कसको जिम्मेवारी भनेर हामी पर्खदैनौं’ खड्काले भने । – आजको उद्घोष दैनिकमा यो खबर छापिएको छ ।