पत्रपत्रिका खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए । उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा छ ।’

सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिलाई राखेको छ । यस्तै, तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन् ।आइतबारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

खोप विज्ञका अनुसार कुनै व्यक्तिले भ्याक्सिन लगाइसकेपछि कोरोना संक्रमण भएपछि सो व्यक्तिलाई कोरोना हुँदैन तर रोग नलागे पनि सो व्यक्तिमा कीटाणुहरू हुन्छन् । त्यसकारण सो व्यक्तिले अरूलाई सार्न सक्ने बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप उपलब्ध गराउनुपर्ने बताए । अहिले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्ने बताए । हाल विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको र २० वटा खोप तेस्रो चरणमा रहेको छ । सरकारले २ करोड १६ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

दोस्रो मात्रा आठ हप्तापछि
सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप पहिलो मात्रा दिएको आठ हप्तापछि लगाउने तयारी थालेको छ । कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पहिलो मात्रा दिएको ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारसमक्ष सिफारिस गरेको हो । तर, अझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छैन ।

कोरोनाविरुद्धको पहिलो खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । खोप विज्ञ डा. श्यामराज पौडेलले पहिलो खोप लगाएको आठदेखि १२ हप्तासम्म दोस्रो खोप लगाउँदा त्यसको प्रभावकारीकारिता बढी देखिएको विभिन्न अनुसन्धानले देखाएको बताए ।

उनले भने, ‘कोभिसिल्ड खोप लगाएपछि कोरोना संक्रमण भएपछि पनि मृत्यु कम हुन्छ वा मृत्यु नै हुँदैन । सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुने दर अत्यन्तै कम हुन्छ । सिकिस्त रोग पनि कम हुन्छ ।’ यस अघि पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिन सकिने विज्ञले सुझाएका थिए ।

यस्तै, देशभर सोमबार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ जना रहेको छ । सोमबार २ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५ सय ९१ पुगेको छ ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ । हाल ७९ जना क्वारेन्टाइनमा रहेका छन् । सोमबार १ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।-प्रशान्त वलीले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!