सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ भने बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको मृत्यु भएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका उनको उपचारका क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी, बराहक्षेत्र–१ रानीखोलामा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्रतर्फ जाँदै गरेको प्रदेश १ ०२–०४१ प ४९७१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएका याख्खालाई उपचारका लागि बिराट नर्सिङहोम लगिएको थियो । उपचारका क्रममा राती करिब सवा १२ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।